ई-आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बराहक्षेत्र नगरपालिका–चक्रघट्टी, सुनसरीका तत्कालीन सव–इन्जिनियर शिव नारायण मण्डलविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग प्रकरणमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगले मिति २०८२।०८।२४ गते विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको हो।
उजुरीका आधारमा गरिएको अनुसन्धानमा मण्डलले भारतको बिहार विद्यालय परीक्षा समिति, पटनाबाट प्राप्त भएको दाबी गरेको माध्यमिक (हाईस्कूल) परीक्षा उत्तीर्ण प्रमाणपत्र र मडैया बलुवा उच्च विद्यालयको विद्यालय परित्याग प्रमाणपत्र दुवै नक्कली भएको प्रमाणित भएको आयोगले जनाएको छ।
मण्डलले ती नक्कली कागजातका आधारमा मिति २०५३/०४/०१ देखि लागू हुने गरी जिल्ला विकास समिति, सुनसरीमा सहायक सव–ओभरसियर पदमा स्थायी नियुक्ति पाएका थिए। त्यसपछि २०६७/१०/०७ मा उनी सहायक इन्जिनियरमा बढुवा भई लामो समयसम्म सरकारी तलब, भत्ता र सुविधा लिइरहेको अनुसन्धानबाट खुलेको हो।
आयोगका अनुसार मण्डलको यस्तो कार्य साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ तथा प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१) बमोजिम भ्रष्टाचारको कसुर ठहरिने हुँदा कैद र जरिवानाको सजाय मागदाबी गरिएको छ।
सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा सो मुद्दामा कानूनअनुसार कडा कारबाही अघि बढाइने उल्लेख छ।