२०८३ असोज २ शुक्रबार

अलैँची निर्यात दोब्बरले बढ्यो, ३ अर्ब ९७ करोड रुपैयाँ आम्दानी

ई आर्थिक    आइतबार, मंसिर २१ २०८२
3.1K
Shares
अलैँची निर्यात दोब्बरले बढ्यो, ३ अर्ब ९७ करोड रुपैयाँ आम्दानी

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मको चार महिनामा अलैँची निर्यातमा उल्लेख्य वृद्धि भएको छ।

भन्सार विभागका अनुसार सो अवधिमा १८ लाख २३ हजार केजी अलैँची निर्यात भई ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपैयाँ आम्दानी भएको छ। तुलनात्मक रूपमा गत वर्ष यति नै अवधिमा १२ लाख ६ हजार केजी मात्र निर्यात भई १ अर्ब ९० करोड ११ लाख २३ हजार रुपैयाँ आम्दानी भएको थियो।

अलैँची उत्पादक सङ्घका अध्यक्ष निर्मल भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग र मूल्य दुबै बढेको कारणले निर्यातमा वृद्धि भएको बताए। उनले भने, “यस वर्ष सिजनको सुरुमै मूल्य राम्रो पाइएकाले किसानले ढिला नगरी बिक्री गरे, जसले निर्यातलाई समेत बढायो। विगतमा मूल्य नबढ्दा किसानले अलैँची भण्डारणमा राखेर पछि बेच्ने गर्थे।”

सङ्घका अनुसार हाल अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य प्रति मन (४० केजी) करिब एक लाख पाँच हजार रुपैयाँ पुगेको छ। यस वर्ष उत्पादन १०–१५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ। उत्पादन वृद्धि भएमा अलैँची निर्यात करिब ८ अर्ब रुपैयाँसम्म पुग्ने अपेक्षा गरिएको छ। गत वर्ष निर्यात करिब सात अर्ब रुपैयाँमा सीमित थियो।

हाल नेपालभर करिब २० हजार हेक्टर क्षेत्रमा अलैँची खेती हुँदै आएको छ र वार्षिक करिब पाँच हजार मेट्रिक टन उत्पादन हुने बताइएको छ। नेपालमा उत्पादित अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका मुलुकमा निर्यात भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij