नयाँदिल्ली । चार वर्षपछि भारतीय भूमिमा भेट भएका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको संवादलाई बदलिँदो विश्व परिस्थितिमा दुई देशको पुरानो साझेदारी पुनः पुष्टिको अवसरका रूपमा हेरिएको छ।
सन् २०२१ पछि पहिलोपटक भारत आएका पुटिनलाई मोदीले प्रोटोकलभन्दा बाहिर गएर स्वागत गरे। दुवै नेता एउटै कारमा प्रधानमन्त्री निवास पुगे। मोदीले पुटिनलाई रुसी भाषामा अनुदित भगवद्गीता उपहार दिए।
पुटिन ५ डिसेम्बरसम्म भारतमा रहनेछन्। यस अवधिमा २३औँ भारत–रुस वार्षिक शिखर सम्मेलन, हैदराबाद हाउसमा सीमित तथा विस्तारित वार्ता, राष्ट्रपति भवनमा स्वागत समारोह तथा राजघाटमा श्रद्धाञ्जली अर्पणजस्ता कार्यक्रम तय छन्।
पूर्वकूटनीतिज्ञ अरुण सिंहका अनुसार राजनीतिक समर्थन, रक्षा सहकार्य र दीर्घकालीन विश्वासले भारत–रुस सम्बन्धलाई विशेष बनाएको छ, जसले पुटिनको यो भ्रमणलाई झन् महत्वपूर्ण बनाएको छ।