२०८३ साउन ११ सोमबार

ठेकेदारको लापरबाहीले कोट अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र

ई आर्थिक    बिहिबार, मंसिर १८ २०८२
2.6K
Shares
ठेकेदारको लापरबाहीले कोट अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र

भोजपुर।  यहाँको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो।

विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५ शैय्याको अस्पताल निर्माण थालिएको थियो। ठेकेदारले मैदान सम्याएर, कम्पाउण्ड र रिटेनिङ वाल मात्र लगाएर सम्पर्कविहीन भएपछि स्थानीय निराश भएका छन्।

अस्पताल सम्झौता अनुसार २०८० सालको असारमा सम्पन्न गर्नेगरी भूमि हिमालयण जेभीले निर्माणको जिम्मा लिएको थियो। सम्झौता अवधि सकिएको दुई वर्ष बितिसक्दा पनि हालसम्म १० प्रतिशत मात्र काम गरेर ठेकेदार विवेश कार्की सम्पर्कविहीन बनेका गाउँपालिकाले जनाएको छ।

अस्पताल निर्माणको कूल लागत भ्याटबाहेक रु दश करोड १३ लाख ८३ हजार रहेको छ । हालसम्म निर्माण कम्पनीले रु ९१ लाख भुक्तानी लगेको गाउँपालिकाले जनाएको छ। खेती गरिरहेको जग्गा अस्पताल निर्माणका लागि दिएका स्थानीयले काम अलपत्र बनेपछि ठेकेदारलाई कारबाहीको माग गरेका छन्। काममा लापरबाही गर्ने ठेकेदारलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने माग रहेको स्थानीय भवानी नेपालले बताए।

‘अस्पताल निर्माण पाँच वर्षबदेखि अलपत्र छ’, उनले भने, ‘अस्पताल बनेर सेवा पाइएला भन्ने आशामा जग्गा दिएका थियौँ। अहिले काम अलपत्र बनेपछि हामी निराश बनेका छौँ। सरकारले ठेकेदारलाई कारबाहीको दायरामा ल्याएर काम सञ्चालन गर्न हामी माग गर्दछौँ।’

देशविदेशमा रहेका कोटबासी तथा स्थानीयसँग समन्वय गरेर १३ दशमलव पाँच रोपनी जग्गा अस्पताल निर्माणका लागि प्रदान गरिएको स्थानीय योगेन्द्र कटुवालले बताए। स्थानीयसँग रकम संकलन गरेर जग्गा खरिद गरिएको उनको भनाइ छ।

‘अस्पताल बन्ने आशामा देशविदेशमा रहेका तथा स्थानीयसँग समन्वय गरी रकमको व्यवस्थापन गरेर जग्गा प्रदान गरेका हौँ’, उनले भने, ‘अहिले खेती गरिरहेको जग्गा बाँझिएको छ। लामो समयसम्म पनि अस्पताल बनेन।’

गाउँपालिकाले अस्पताल भवन समयमा सम्पन्न गराउन पटकपटक समन्वय गरे पनि निर्माण कम्पनी सम्पर्कमा नआएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले बताए। ठेकेदारले लामो समयदेखि काम अपलत्र पारेकाले गाउँपालिकाले उक्त कम्पनीलाई कारबाहीको प्रक्रिया अघि बढाउने तयारी गरिरहेको उनले जानकारी दिए।

‘ठेकेदारका कारण कोट अस्पताल निर्माण अलपत्र बनेको छ’, अध्यक्ष बस्नेतले भने, ‘कामलाई शीघ्र अघि बढाउन पालिकाको तर्फबाट पटकपटक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा आएन। अब भने कारबाहीको थप प्रक्रिया अघि बढाउने तयारीमा छौँ।’

यहाँ अस्पताल बनेपछि टेम्केमैयुङ-६,७, ५ ८ र ९ का स्थानीय लाभान्वित हुनेछन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij