ई–आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई भ्रष्टाचारमा संलग्न रहेको आरोपमा पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोकमा निर्माण गरिएको हेलिप्याडमा प्रक्रियागत अनियमितता र वातावरणीय प्रभाव मूल्यांकन (EIA) बिना निर्माण कार्य अघि बढाएको आरोप उनीमाथि लगाइएको छ। आयोगले बुधबार अधिकारीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।
आयोगका अनुसार प्राधिकरणको स्वामित्वमा रहेको ३२ रोपनी जग्गामा नियमविपरीत हेलिप्याड निर्माण गरिएको उजुरीपछि छानबिन सुरु गरिएको थियो। सोही क्रममा अधिकारीसहित सम्बन्धित व्यक्तिमाथिको अनुसन्धान पूरा गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जानकारी दिएको छ।
उक्त हेलिप्याडको उद्घाटन २०७८ असार ७ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ र महानिर्देशक अधिकारीले संयुक्त रूपमा गरेका थिए। साथै अधिकारीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियासँग भएको अनियमितता तथा भ्रष्टाचारको छानबिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसंग बयान लिएको थियो ।