२०८३ साउन ९ शनिबार

सुक्खा क्षेत्रमा ३० लाखमा तीनवटा सिँचाइ पोखरी निर्माण

ई आर्थिक    मंगलबार, मंसिर ९ २०८२
3.1K
Shares
सुक्खा क्षेत्रमा ३० लाखमा तीनवटा सिँचाइ पोखरी निर्माण
भोजपुर । पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ। खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ।
पोखरी निर्माण भएपछि चाँपे टोलका स्थानीयले एकसाथ सिँचाइ गर्न सक्ने अवस्था बनेको निर्माण उपभोक्ता समितिका अध्यक्ष शुभराज राईले बताए। पोखरी निर्माण भएपछि यहाँको सिँचाइ समस्या अन्त्य भएको उgको भनाइ छ। ‘हाम्रो टोलमा तीनवटा ठूला सिँचाइ पोखरी निर्माण गरेका छौँ,’ उनले भने, ‘सिँचाइ अभावमा हामीले धेरै समस्या भोग्दै आएका थियौँ, अहिले सहजता भएको छ।’

यहाँ प्रदेश सरकारको क्रमागत रूपमा प्राप्त रु ३० लाख बजेटबाट तीनवटा पोखरी निर्माण गरिएको पौवादुङमा–१ श्यामशिलाका वडाध्यक्ष राजेन्द्र राईले बताए। वडाको पहलमा प्रदेशसँग बजेट माग गरेर पोखरी निर्माण गर्न सफल भएको उनको भनाइ छ। ‘सिँचाइ नहुँदा स्थानीयलाई समस्या थियो, यो चाँपे क्षेत्र तरकारीलगायत कृषि उत्पादनका लागि राम्रो मानिन्छ। तर सिँचाइ अभावमा देखिएका समस्या अब भने अन्त्य भएको छ,’ उनले भने।

सडकको राम्रो पहुँच रहेकाले सिँचाइ पोखरी निर्माणले स्थानीयलाई नगदेबाली खेतीका लागि सहयोग पुगेको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताइन्। सिँचाइ विस्तार भएपछि यहाँका किसानले कृषिकर्म गरेर आयआर्जनमा जोडिने अवस्था बनेको उनको भनाइ छ। गाउँपालिकाभित्र रहेको कृषियोग्य क्षेत्रमा सिँचाइ सुविधा विस्तारमा जोड दिएको उपाध्यक्ष राईले बताइन्। सिँचाइका लागि मुहान नभएको ठाउँमा प्लाष्टिक पोखरी वितरण गरेर पनि किसानलाई आवश्यक सहयोग गर्दै आएको उनको भनाइ छ।

‘हाम्रो गाउँपालिका खुक्खाग्रस्त क्षेत्रमा पर्दछ,’ उपाध्यक्ष राईले भनिन्, ‘तर पनि किसानलाई खेतीमा सहजता पुर्याउनका लागि सिँचाइ पोखरी, निर्माण प्लाष्टिक पोखरी वितरणलगायतका कार्यक्रम सञ्चालन गरेका छौँ।’ पोखरी निर्माणले स्थानीयलाई तरकारीखेती गर्नका लागि सहजता भएको स्थानीयवासी भरतबहादुर कार्कीले बताए। पोखरीको पानी प्रयोग गरेर आफूले तरकारी तथा नगदेबालीको खेती गरिरहेको उनको भनाइ छ। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij