रुपन्देही : रुपन्देहीका दुई उद्योगी राष्ट्रिय उद्योग दिवस २०८२ को अवसरमा सम्मानित भएका छन् । सोमबार आयोजित विशेष समारोहमा उद्योगी सीताराम उप्रेती र बसन्त रोका क्षेत्रीलाई उद्योग क्षेत्रबाट जिल्लाको आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरिएको हो।
चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) ले भैरहवामा आयोजना गरेको उद्योग प्रवद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रमका संयोजक विष्णु कंडेलका अनुसार एस.आर. ग्रुपका सञ्चालक उप्रेती र माउण्ट एभरेष्ट कत्था मिल्स प्रा. लि. का सञ्चालक रोका क्षेत्रीलाई सम्मान–पत्र र खादा अर्पण गरिएको हो।
उनीहरूलाई चेम्बरका अध्यक्ष सचिन रोक्का तथा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सिद्धार्थनगरका निमित्त प्रमुख पुष्पराज पाण्डेले सम्मान प्रदान गरेका हुन्।
यस्तै, चेम्बर अफ कमर्श, रुपन्देहीको आयोजनामा सिद्धार्थनगर–८, अञ्चलपुरमा मंसिर ३ गतेदेखि सातौं लुम्बिनी महोत्सव (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवद्र्धन) सुरु भएको छ। महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने जानकारी संस्थाका महासचिव लक्ष्मी अधिकारीले दिएका छन् ।