स्वदेशी जुत्ता–चप्पल उद्योग प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
ई आर्थिक
शुक्रबार, साउन १ २०८३
798
Shares
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता–चप्पल उद्योगको प्रवर्द्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना तथा निर्यात विस्तारका लागि सरकारले आवश्यक नीतिगत र संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको छलफलमा प्रधानमन्त्री शाहले स्वदेशी उत्पादनको प्रयोग र बजार विस्तारमा सरकारको विशेष ध्यान रहने बताउनुभयो।
उहाँले तीनै तहका सरकारको समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिम सञ्चालन गर्ने, नेपाली जुत्ता–चप्पलको ब्रान्डिङ, मार्केटिङ तथा बजार प्रवर्द्धनका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्ने जानकारी दिनुभयो।
प्रधानमन्त्री शाहले उद्योगको उत्पादन क्षमताअनुसार कच्चा पदार्थ आयातको व्यवस्थापन, ट्र्याकिङ तथा अभिलेख प्रणालीलाई प्रभावकारी बनाइने बताउँदै स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बनाउन सरकार सहजीकरण गर्न तयार रहेको उल्लेख गर्नुभयो।
छलफलका क्रममा एफएमएएनका पदाधिकारीहरूले भारतका विभिन्न नाकाबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न, कर तथा भ्याटको दायराबाहिर रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डलाई कानुनी दायरामा ल्याउन र गुणस्तरहीन तथा सस्तो जुत्ता–चप्पलको आयात नियन्त्रण गर्न सरकारसँग आग्रह गरेका थिए।
उनीहरूले आयातित जुत्ता–चप्पलमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था लागू गर्नुपर्ने मागसमेत राखेका थिए। आवश्यक नीतिगत सहयोग, बजार संरक्षण र उद्योगमैत्री वातावरण निर्माण भए स्वदेशी जुत्ता–चप्पल उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन सक्ने उनीहरूको भनाइ थियो।
छलफलमा एफएमएएनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम, सदस्य तथा प्रतिनिधिसभा सदस्य विदुषी राणालगायतको सहभागिता रहेको थियो।