काठमाडौं । अघिल्लो सरकारले निजीकरण गर्ने निर्णय गरेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड पुनर्जीवनका लागि अब जेन–जी पुस्ताका युवाहरू सक्रिय भएका छन्।
त्रियुगा नगरपालिका–६ का वडा सदस्य तथा जेन–जी युवा प्रवेश खड्काको नेतृत्वमा गएको स्थानीय युवाहरूको प्रतिनिधिमण्डलले उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हालाई भेटेर उद्योग बचाउन आग्रह गरेको हो ।
प्रतिनिधिमण्डलले बन्द अवस्थामा रहेको उद्योग तत्काल सञ्चालन गर्न र अघिल्लो सरकारले गरेको निजीकरणको निर्णय खारेज गर्न माग गरेको छ। मन्त्री सिन्हासँग भेटपछि खड्काले भने, “हामीले मन्त्रीज्यूलाई उद्योगलाई पुनर्जीवन दिई उत्पादन थाल्न र स्थानीय रोजगारी सुनिश्चित गर्न आग्रह गरेका छौँ।”
उद्योगको वर्तमान अवस्था
टोलीले मन्त्रीलाई बुझाएको ९ बुँदे प्रतिवेदनमा उद्योगको वर्तमान अवस्था र समस्याहरू उल्लेख गरिएको छ। त्यस अनुसार, उद्योगको उत्पादन क्षमता दैनिक ८ सय मेट्रिक टन (१६ हजार बोरा) भए पनि, हाल आठ महिनादेखि पूर्ण रूपमा ठप्प छ।
उद्योगका २९ वटा बैंक खातामध्ये २८ वटा बैंक खाता अदालतको आदेशले रोक्का अवस्थामा छन्। कच्चा पदार्थ आपूर्ति गर्ने सप्लायर्सलाई ७५ करोड ४० लाख रुपैयाँ भुक्तानी बाँकी छ भने उद्योगमा महाप्रबन्धक र सञ्चालक समिति पनि नियुक्त छैनन्।
त्यस्तै, चुनढुङ्गा र रातोमाटो खानी उत्खनन अनुमति वर्षौँदेखि नवीकरण नभएको, चालु पुँजीको अभाव र मेसिन मर्मतको समस्या हुँदा उत्पादन अवरुद्ध भएको जानकारी पनि टोलीले मन्त्रीलाई दिएको छ।
यस्ता छन् पाँच बुदे सुझाव
-उद्योग सुचारु गर्न टोलीले ५ बुँदे सुझाव पनि दिएको छ —
-महाप्रबन्धक र सञ्चालक समिति तत्काल नियुक्त गर्नुपर्ने,
-अदालतले रोक्का गरेका खाताहरू फुकुवा गर्नुपर्ने,
-दुई वर्षअघि तत्कालीन सरकारले उपलब्ध गराएको ६ करोड पुँजीगत रकमलाई चालु पुँजीमा रुपान्तरण गर्ने,
-सरकारी जमानतमा ऋण उपलब्ध गराउने,
-उद्योगमा भएको भ्रष्टाचार र अनियमितता सम्बन्धी निष्पक्ष छानबिन गर्नुपर्ने।
मन्त्रीको प्रतिक्रिया
युवा टोलीलाई भेटेपछि मन्त्री अनिलकुमार सिन्हाले उद्योग सरकारी सम्पत्ति भएकाले पुनः सञ्चालनका लागि सरकार तत्पर रहेको बताए। उनले अघिल्लो सरकारले गरेको निजीकरणको निर्णय गलत भएको उल्लेख गर्दै, “उद्योगलाई पुनर्जीवन दिन ठोस कदम चालिनेछ,” भन्ने प्रतिबद्धता व्यक्त गरेको खड्काले जानकारी दिए।
स्थानीय युवाहरूले भने, “उदयपुर सिमेन्ट हाम्रो पहिचान हो। निजीकरण होइन, सुधार र पुनर्जीवन नै यसको समाधान हो,” भन्दै सरकारलाई तत्काल कदम चाल्न आह्वान गरेका छन्।
थलिएको उद्योगलाई तत्कालिन महाप्रबन्धक न्यौपानेले उठाउने प्रयास गर्दा उल्लेखनीय उपलब्धि

उदयपुर सिमेन्ट उद्योगलाई लगातार राजनीतिक हस्तक्षेप र लाभ लिने स्वार्थी समूहलाई नियन्त्रणमा लिई लामो समयदेखि चलाउँदै आएका थिए । यसरी स्पष्ट भिजन नभएका लाभ लिनेहरुले चलाउन थाले पछि उद्योग नराम्ररी थलिएको थियो ।
उृठ्नै नसक्ने गरी थलिएको उद्योगलाई तत्कालिन महाप्रबन्धक गोपीकृष्ण न्यौपाने गएपछि शुरुदेखिनै अव्वल काम देखाउन सफल भए । न्यौपाने महाप्रबन्धक भएर गएपछि उद्योगलाई २०७७ माघ देखि पुनः सञ्चालनमा ल्याएका थिए ।
उनको व्यवस्थापकीय क्षमता, सिर्जनशिलता र दीर्घकालिन भिजनसहितको अथक मेहनत सहितको २९ महिने कार्यकालमा उद्योगमा उल्लेख्य सुधार भएको थियो । उत्पादन, बिक्री, कोइला तथा कच्चापदार्थ अभावको कारणले पनि बन्द प्रायः रहेको उद्योगलाई न्यौपानेले उत्पादन, बिक्री, सुशासन र वित्तीय व्यवस्थापनमा उल्लेखनीय सुधार सहित उद्योगलाई अगाडी बढाएका थिए ।
५ अर्ब ५० करोड घाटामा रहेको उद्योगलाई महाप्रबन्धक न्यौपानेको कार्यकालमा कर तथा महसुल भुक्तानी समेत तिर्न सक्षम बनाएका थिए भने उत्पादन क्षमता दोब्बर वृद्धि गरी विद्युत् खपतमा समेत मितव्ययिता ल्याएका थिए ।
उद्योगमा मर्मतसंभार, पारदर्शिता, आन्तरिक लेखापरीक्षण, इआरपी प्रणाली अद्यावधिक, कर्मचारी व्यवस्थापन सुधार, सम्पत्ति बीमा, सामाजिक उत्तरदायित्व जस्ता क्षेत्रमा पनि प्रगति भएको थियो । न्यौपानेको नेतृत्वमा उद्योगले दीर्घकालीन लक्ष्यस्वरूप उत्पादन क्षमता ११०० मेट्रिक टन पुर्याउने र अर्को प्लान्ट स्थापनाको सम्भाव्यता अध्ययन समेत सुरु भइसकेको थियो ।
न्यौपानेले धेरै राम्रो संभावना भएको उद्योगको पुनर्संरचनाका लागि अति आवश्यक ५५ करोड रुपैयाँ माग गर्दा उद्योग मन्त्री नै सहयोगी बनेनन् । नबन्दा उनले राजीनामा दिएका थिए । तर उनको नेतृत्वमा गरिएको ३३ बढी प्रमुख सुधारात्मक कामहरू उद्योगको इतिहासमै महत्वपूर्ण उपलब्धि मानिएको छ।
कर्मचारीको उचित व्यवस्थापनका साथै उद्योगको उत्पादन, गुणस्तर र विक्री योजनाको अब्बल कार्यले गर्दा उनको कार्यकालमा उद्योगले ४ करोड ९२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको थियो ।
स्थानीय, कर्मचारी र सरोकारवालाहरूले न्यौपानेको नेतृत्वमा उद्योग पुनर्जीवित भएको भन्दै उनको योगदानको प्रशंसा समेत गर्ने गरेका छन् ।
उद्योगमा भएको थुप्रै सुधारका काम हेर्दा उद्योग बाणिज्य क्षेत्रमा न्यौपानेको अनुभव र व्यवस्थापकीय क्षमताले राम्रो काम गरेको देखिन्छ ।
बन्द र जीर्ण अवस्थामा रहेको झाडीमय उद्योगलाई आफ्नो विवेक प्रयोग गरेर तत्कालिन अवस्थामा उद्योगलाई नयाँ जीवन दिने गतिमा हिडाएको न्यौपानेले बताए ।