काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको विवाद अन्ततः समाधान भएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ, भौतिक पूर्वाधार तथा यातायात मन्त्री र शहरी विकास मन्त्रीको उपस्थितिमा मंगलबार राति १० बजेसम्म चलेको छलफलपछि सहमति जुटेको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सो बैठकमा तीनै मन्त्रालयका सचिवहरू, खानेपानी मन्त्रालयका प्रतिनिधि, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र अन्य सरोकारवाला निकायका अधिकारीहरूको सहभागिता रहेको थियो।
दीर्घ छलफलपछि सबै पक्षबीच समझदारीपत्रमा हस्ताक्षर गरी पथान्तरणसम्बन्धी विवाद समाधान गरिएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।
समझदारीपछि मेलम्ची आयोजनाको पानी आपूर्तिसम्बन्धी काम पुनः सहज रूपमा अघि बढ्ने र काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरणमा अवरोध नहुने अपेक्षा गरिएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, खानेपानी मन्त्रालयका सचिव, मेलम्ची खानेपानी विकास समितिका पदाधिकारी र सरोकारवालाहरुको उपस्थितिमा समझदारीपत्रमा हस्ताक्षर सम्पन्न गरी विवाद समाधान गरिएको हो ।


