काठमाडौं । सिङ्गापुर एयरलाइन्सले काठमाडौं र सिङ्गापुरबीचको नियमित उडानमा अत्याधुनिक बोइङ ७३७-८ म्याक्स विमान स्थायी रूपमा सञ्चालनमा ल्याएको छ। कम्पनीले यस रुटमा यो विमानको सेवा सुरु गर्नु आफूहरूका लागि उत्साहजनक कदम भएको जनाएको छ।
यसअघि सिङ्गापुर एयरलाइन्सले सो मार्गमा बोइङ ७३७-८०० एनजी विमान प्रयोग गर्दै आएको थियो। नयाँ पुस्ताको विमान सञ्चालनमा आएपछि यात्रुहरूले अझ सहज, आधुनिक र वातावरणमैत्री उडान अनुभव गर्ने अवसर पाउने छन्।
नयाँ बोइङ ७३७-८ म्याक्स विमानमा यात्रुको सुविधा र आरामलाई विशेष प्राथमिकता दिइएको छ। बिजनेस क्लासका यात्रुका लागि पूर्ण रूपमा सुताउन मिल्ने सिटको व्यवस्था गरिएको छ, जसले लामो दूरीको यात्रालाई अझ आरामदायी बनाउनेछ। साथै, सबै क्लासका यात्रुहरूले उडानभरि निःशुल्क वाई-फाई प्रयोग गर्न सक्नेछन्, जसले यात्राका क्रममा इन्टरनेट पहुँचलाई सहज बनाएको छ।
आधुनिक क्याबिन डिजाइन, उन्नत इन-फ्लाइट मनोरञ्जन प्रणाली र इन्धन दक्ष प्रविधिसहितको यो विमानले वातावरणमैत्री उडान अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।
सिङ्गापुर एयरलाइन्सका अनुसार बोइङ ७३७-८ म्याक्स विमानको स्थायी सञ्चालनले काठमाडौं–सिङ्गापुर रुटमार्फत विश्वका अन्य गन्तव्यहरूमा यात्रा गर्ने यात्रुका लागि अझ गुणस्तरीय सेवा सुनिश्चित गर्नेछ।