काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालले करिब ३५ अर्ब १३ करोड रुपैयाँ बराबरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता प्राप्त गरेको छ। उद्योग विभागका अनुसार यो अवधिमा ३११ उद्योगले लगानीको स्वीकृति मागेका हुन्।
असोज महिनामा मात्रै ७५ उद्योगबाट करिब २ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता दर्ता भएको छ। विभागका तथ्याङ्कअनुसार अटोमेटिक रुटमार्फत १९७ उद्योगले ३३ अर्ब रुपैयाँभन्दा बढी, र अप्रुभल रुटमार्फत ११४ उद्योगले झन्डै २ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता दिएका छन्।
क्षेत्रगत हिसाबले ७१ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ। त्यसपछि उत्पादनमा १० प्रतिशत, सेवामा ९ प्रतिशत, सूचना प्रविधिमा ८ प्रतिशत र कृषिमा २ प्रतिशत लगानी भएको छ। खनिज, ऊर्जा र पूर्वाधार क्षेत्रमा भने लगानी नगण्य रहेको विभागले जनाएको छ।
यस अवधिमा विदेशी लगानीकर्ताले करिब ३८ करोड रुपैयाँ बराबरको रोयल्टी फिर्ता लैजान अनुमति पाएका छन्। साथै ८,५२१ अमेरिकी डलर, ५९ लाख भारतीय रुपैयाँ र १०,२०० युरो बराबरको रकम पनि फिर्ता गर्न स्वीकृति दिइएको छ।
उद्योग विभागका अधिकारीहरूको भनाइमा, पर्यटन क्षेत्रमा बढी लगानी केन्द्रित हुनु देशको आर्थिक विविधीकरणका लागि चुनौतीपूर्ण बन्न सक्ने संकेत हो।