२०८३ साउन ९ शनिबार

थाइल्यान्डको राजनीतिमा सिनावात्रा युगको अन्त्यतर्फ संकेत

ई आर्थिक    बुधबार, कार्तिक ५ २०८२
5.7K
Shares
थाइल्यान्डको राजनीतिमा सिनावात्रा युगको अन्त्यतर्फ संकेत

बैङ्कक। थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिनु भएको छ ।

यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ सङ्केत गरेको राजनीतिक विश्लेषकले बताएका छन् । ३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष पनि पूरा गर्नुअघि नै कम्बोडियासँगको सीमा विवादमा देखिएको भनिएको नैतिकता उल्लङ्घनको आरोपका कारण गत अगस्टमा अदालतले उहाँलाई पदबाट बर्खास्त गरेको थियो ।

थाक्सिन सिनावात्रा परिवार पछिल्लो दुई दशकदेखि थाइल्यान्डको सैन्य समर्थक र शाही अभिजात वर्गको प्रमुख प्रतिद्वन्द्वी रहँदै आएको छ । ती वर्गले सिनावात्रा परिवारको लोकप्रियतावादी राजनीति परम्परागत सामाजिक संरचनाका लागि खतरा भएको आरोप लगाउँदै आएका छन् ।

तर हालका वर्षमा सिनावात्रा परिवारले कानूनी र राजनीतिकरूपमा कठिन चरणको सामना गर्दै आएको छ । ७६ वर्षीया थाक्सिनले आफ्नै शासनकालमा भएका भ्रष्टाचारका मुद्दामा जेल सजाय भोगिरहनुभएको छ । यसले परिवारमाथि थप दबाब सिर्जना गरेको छ ।

फेउ थाई पार्टीले बुधबार जारी गरेको विज्ञप्तिमा पेटोङटार्नको राजीनामा औपचारिकरूपमा स्वीकृत गरेको उल्लेख छ । विज्ञप्तिमा उहाँले भन्नुभएको छ, “मेरो राजीनामाले पार्टीलाई पूर्णरूपमा सुधार गर्न मद्दत गर्नेछ र अन्ततः हामी पुनः चुनाव जित्न सक्षम हुने छौँ ।” उहाँले पार्टीको साधारण सदस्यका रूपमा रहँदै ‘हाम्रो थाइल्यान्डका लागि निरन्तर कडा परिश्रम गर्ने’ प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।

थाक्सिनले सन् १९९० को दशकको उत्तरार्धमा फेउ थाईको पहिलो रूप थाइ राख थाइ पार्टी स्थापना गर्नुभएको थियो । उहाँलाई सन् २००६ को सैनिक विद्रोहमा पदच्युत गरिएपछि एक दशकभन्दा बढी समय निर्वासनमा बस्नुपरेको थियो । पेटोङटार्न आफ्ना पिता थाक्सिन र काकी यिङलक सिनावात्रापछि प्रधानमन्त्री बन्ने तेस्री सिनावात्रा हुनुहुन्छ । उहाँ हाल पनि सक्रियरूपमा राजनीतिमा संलग्न परिवारकी अन्तिम सदस्य मानिनुहुन्छ ।

राजनीति विश्लेषकको भनाइमा उहाँको राजीनामाले थाइल्यान्डको राजनीतिमा सिनावात्रा परिवारको प्रभाव क्रमशः क्षीण हुँदै गएको सङ्केत गर्छ । तथापि, कतिपयले भने अझै पनि फेउ थाई पार्टीको पछाडि परिवारको प्रभाव कायम रहेको विश्वास गर्छन् । “फेउ थाईको नेतृत्व जोसुकैले गरे पनि यसको वास्तविक नियन्त्रण सधैँ ब्याकरूपमा सिनावात्रा परिवारकै हातमा रहने छ”, सुखोथाई थम्माथिरत ओपन युनिभर्सिटीका राजनीति विज्ञ युटापोर्न इसाराचाईले भन्नुभयो । उहाँका अनुसार अदालतले पेटोङटार्नलाई पदबाट हटाएपछि पार्टीलाई कानूनी जोखिमबाट जोगाउनकै लागि उहाँको राजीनामा मुख्यरूपमा आवश्यक भएको हो । रासस/एएफपी

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij