काठमाडौँ । तिहार नजिकिँदै जाँदा काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या तीव्र रुपमा बढेको छ। रोजगारी, अध्ययन, व्यापार लगायतका कारणले उपत्यकामा बस्दै आएका धेरै नागरिक चाडपर्व मनाउन जन्मथलो फर्किन थालेका छन्।
ट्राफिक प्रहरीका अनुसार हालसम्म ४४ हजारभन्दा बढीले उपत्यका छाडेका छन् भने झन्डै ३१ हजार मानिस उपत्यका भित्रिएका छन्। नागढुङ्गा नाका सबैभन्दा व्यस्त देखिएको छ, जहाँबाट मात्रै १८ हजार ९२० यात्रु बाहिरिएका छन्।
यात्रुको चापलाई व्यवस्थापन गर्न ट्राफिक प्रहरीले विशेष योजना कार्यान्वयनमा ल्याएको छ। चेकपोइन्टहरूमा निगरानी कडा पारिएको छ भने सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्न रोक लगाइएको छ। साथै, ट्राफिक प्रहरीले यात्रुलाई सवारी जाँच गरेर मात्र यात्रा गर्न र कुनै समस्या परेमा १०३ नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ।