२०८३ साउन ९ शनिबार

सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता सुरु, आंशिक सेवा पुनः सुचारु

ई आर्थिक    मंगलबार, असोज २८ २०८२
2.5K
Shares
सर्वोच्च अदालतमा आजदेखि रिट निवेदन दर्ता सुरु, आंशिक सेवा पुनः सुचारु

ई–आर्थिक, काठमाडौं ।  आगजनी र तोडफोडका कारण स्थगित गरिएको सर्वोच्च अदालतको सेवा आजदेखि आंशिक रूपमा पुनः सुचारु भएको छ। अदालतले आइतबार सूचना जारी गर्दै असोज २८ गते (मंगलबार)देखि रिट निवेदनलगायत केही कानुनी निवेदनहरूको दर्ता र सुनुवाइ सुरु गर्ने जानकारी दिएको हो।

भदौ २४ गते सर्वोच्च अदालत परिसरमा भएको आगजनी, तोडफोड, लुटपाट र ढुंगामुढाका घटनापछि सम्पूर्ण न्यायिक सेवा स्थगित गरिएको थियो। ती घटनामा अदालतको भौतिक संरचना र महत्वपूर्ण कागजातहरूमा क्षति पुगेको थियो।

सर्वोच्च अदालतको असोज २६ गते बसेको पूर्ण बैठकले सेवा आंशिक रूपमा सञ्चालन गर्ने निर्णय गरेको हो। अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, आजदेखि रिट निवेदनसँगै मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदनहरूको दर्ता र सुनुवाइ सुरु गरिएको छ।

यसअघि बन्दी प्रत्यक्षीकरण र अत्यावश्यक निवेदनहरूको मात्र दर्ता र सुनुवाइ हुँदै आएको थियो। प्रवक्ता कोइरालाका अनुसार अन्य सेवा भने अर्को सूचना जारी नभएसम्मका लागि यथास्थितिमा रहनेछन्।

अदालतले सम्पूर्ण सेवा पुनः सुचारु हुन केही समय लाग्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij