२०८३ साउन ९ शनिबार

कोशी र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ई आर्थिक    सोमबार, असोज २० २०८२
1.2K
Shares
कोशी र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध

ई-आर्थिक, काठमाडौं ।   कोशी र बागमती प्रदेशका विभिन्न जिल्लाहरूमा हाल अविरल वर्षा, बाढी, र पहिरोका कारण प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

संखुवासभाको भोटखोला गाउँपालिका–४ स्थित बरुणखोलामा परेको वर्षाका कारण कोशी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । सो अवरोध २०८२ सालको असार महिनादेखि निरन्तर रहेको छ ।

त्यसैगरी, ओखलढुङ्गामा मकालु गाउँपालिका–३ स्थित एकुवा र मानेभञ्ज्याङ गाउँपालिका–६ तथा ७ का क्षेत्रमा बाढीका कारण कोशी राजमार्ग पूर्ण रूपमा बन्द भएको छ । सिमानामा पर्ने भँडारे खोलामा आएको बाढीले सिद्धिचरण लोकमार्ग पनि प्रभावित बनाएको छ ।

उदयपुरको कटारी नगरपालिकाका विभिन्न स्थानहरूमा अविरल वर्षाका कारण सिद्धिचरण लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, धनकुटाको पाख्रीबास नगरपालिका–५ दिकुरे र साँगुरीगढि गाउँपालिका–१ स्थित मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ । धनकुटाकै चनौटे, वडा नम्बर ६ को घण्टे, र सिमसुवा लगायत तीन स्थानमा कोशी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको जानकारी प्राप्त भएको छ ।

ईलाम नगरपालिकाको वडा नम्बर ९, राजदुवालीमा परेको वर्षाले मेचि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

बागमती प्रदेशतर्फ हेर्दा, नेपाल–चीन नाका जोड्ने गोसाइकुण्ड गाउँपालिका–२ मा पर्ने पुल बाढीका कारण २०८२ सालको असार २४ गतेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । त्यस्तै, रसुवाको गोसाइकुण्ड गाउँपालिका–२ मा पहिरोका कारण पासाङ ल्हामु सडक तीन स्थानमा पूर्ण रूपमा बन्द भएको छ । गोसाइकुण्ड गाउँपालिका–५ स्याफ्रुबेशी खण्डमा पनि सडक पूर्ण रूपमा अवरुद्ध छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४, चारकिलो क्षेत्रमा पहिरोले अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध पारेको छ । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ मा माम्तीखोला, डलाबेसी, र बुल्ढुङ्गा लगायत स्थानहरूमा पहिरोले बिपी राजमार्ग बन्द बनाएको छ ।

मकवानपुरको बकैया गाउँपालिका–११ घट्टेपाखा क्षेत्रमा पहिरोका कारण कान्ति लोकपथ बन्द भएको छ भने, भिमफेदी गाउँपालिका–८ वगुवा खोलामा समेत सोही लोकपथ पूर्ण रूपमा अवरुद्ध छ । इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजार क्षेत्र भएर जाने कुलेखानी–सिस्नेरी सडक तथा दक्षिणकाली–काठमाडौं सडक खण्ड पनि वर्षाका कारण अवरुद्ध भएका छन् ।

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ नेपालथोक क्षेत्रमा पहिरोका कारण मध्य पहाडी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध छ भने मरिण गाउँपालिका–२ सिन्दुरे र फिक्कल गाउँपालिका–६ नागस्थान क्षेत्र हुँदै जाने मदन भण्डारी राजमार्गमा यातायात एकतर्फी रूपमा मात्र सञ्चालन भइरहेको छ ।

सवारी चलाउने यात्रु तथा सम्बन्धित निकायलाई सतर्कता अपनाउन र वैकल्पिक मार्ग प्रयोग गर्न   प्रहरीले अनुरोध  गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij