म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेड प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ। हाल आयोजनाको ९० प्रतिशत भौतिक प्रगति भइसकेको छ भने बाँकी संरचनाको निर्माण तीव्र गतिमा भइरहेको छ।
आयोजनाका व्यवस्थापक राज विष्टका अनुसार सुरुङ, बाँध, र विद्युतगृहको संरचना अन्तिम चरणमा पुगेको छ र विद्युतगृहमा उपकरण जडान सुरु भइसकेको छ। उनका अनुसार दसैँको बिदामा पनि ५०० जना भन्दा बढी मजदूर खटाएर निर्माण कार्यलाई निरन्तरता दिइएको छ।
भारतीय कम्पनी जयप्रकाश एसोसियट्स (जेपी) सँग ६ अर्ब रुपैयाँमा सन् २०१७ नोभेम्बर १७ (२०७४ मङ्सिर ६) मा सिभिल निर्माणको ठेक्का सम्झौता गरिएको थियो। ४५ महिनामा सम्पन्न गर्ने लक्ष्यसहित सुरु गरिएको निर्माण कार्य विभिन्न कारणले ढिलाइ भयो। सन् २०२२ फेब्रुअरीमा दुई पटक म्याद थपिएकोमा अन्तिम पटक सन् २०२५ नोभेम्बर २७ सम्म थपिएको छ।
निर्माणमा कोभिड–१९ महामारी, बाढी, पहिरो, र निर्माण सामग्रीको अभाव जस्ता कारणले ढिलाइ भएको आयोजना व्यवस्थापनले जनाएको छ।
विद्युतगृहका उपकरण आपूर्ति तथा जडानको जिम्मा पाएको भारत हेभी इलेक्ट्रिकल्स लिमिटेड (BHEL) सँग सन् २०१९ (२०७६ कात्तिक) मा एक करोड दुई लाख ९३ हजार २२.३५ अमेरिकी डलरमा इलेक्ट्रोमेकानिकल ठेक्का सम्झौता भएको थियो। तर, कम्पनीले लक्ष्यअनुसार उपकरण जडान कार्य सम्पन्न गर्न सकेको छैन। BHEL सँगको ठेक्काको म्याद सन् २०२५ डिसेम्बर ३१ सम्म रहेको छ।
आयोजना व्यवस्थापक बिष्टका अनुसार निर्धारित कार्ययोजना अनुसार काम भएमा आगामी डिसेम्बरमा आयोजना पूर्णरूपमा सम्पन्न हुनेछ। रघुगङ्गा गाउँपालिका–४ दग्नाम र वडा नं ५ झीँ को फेदीमा बाँध, ६.२७ किलोमिटर लामो सुरुङ, र तिल्केनीचौरमा विद्युतगृह निर्माणको काम लगभग सम्पन्न भइसकेको छ।
भारतीय एक्जिम बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा नेपाल सरकार र विद्युत प्राधिकरणको संयुक्त लगानीमा आयोजना निर्माण भइरहेको हो। कमजोर आर्थिक अवस्था र पुरानो ठेकेदार IVRCL सँगको ठेक्का तोडेपछि नयाँ प्रक्रियाबाट जयप्रकाश एसोसियट्सलाई जिम्मा दिइएको थियो।
आयोजनाले वार्षिक २४ करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। उत्पादन हुने विद्युत कालीगण्डकी कोरिडोर अन्तर्गत २२० केभी क्षमताको दाना–कुश्मा प्रशारण लाइनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ। हाल चारवटा टावर र प्रशारण लाइन निर्माण पनि सम्पन्न भइसकेको छ।