सर्लाही । सर्लाही जिल्लाको हरिपुवा नगरपालिका–१ स्थित हर्दी खोलाको किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा चार जनाको मृत्यु भएको छ।
मृत्यु हुनेहरूमा महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथाना निवासी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार, आज बिहान माटो खन्ने क्रममा अचानक ढिस्को खसेर उनीहरू पुरिएका थिए।
स्थानीयले तुरुन्तै उद्धार गरी घाइते अवस्थामा प्रादेशिक अस्पताल मलङ्गवा पुर्याए पनि चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेका हुन्।
सुरक्षा निकाय र स्थानीयको सहकार्यमा उद्धार गरिएको घटनास्थलमा अहिले थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।