काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको तयारीबारे प्रधानमन्त्री सुशीला कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज छलफल सम्पन्न भएको छ।
छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचन स्वच्छ, स्वतन्त्र, भयरहित, निष्पक्ष र मितव्ययी रूपमा सम्पन्न गर्नु नेपाल सरकारको उच्च प्राथमिकताको विषय रहेको उल्लेख गर्दै, निर्वाचन आयोगलाई आवश्यक पर्ने स्रोत, साधन र जनशक्ति उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो। साथै, शान्ति सुरक्षाको भरपर्दो व्यवस्था मिलाइने र निर्वाचनका लागि अनुकूल वातावरण तयार पार्न सरोकारवाला पक्षहरूसँग छलफल गरिने जानकारी उहाँले दिनुभयो।
छलफलमा निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले निर्वाचनका लागि आवश्यक मतपेटिका लगायतका सामग्रीहरू मौज्दातमै रहेको र अन्य आवश्यक सामग्रीहरू स्वदेशमा उत्पादित वस्तुहरूलाई प्राथमिकता दिँदै प्रतिस्पर्धात्मक रूपमा खरिद गरिने जानकारी दिनुभयो। उहाँले राजनीतिक दल, नागरिक समाज र सञ्चार क्षेत्र लगायत सबै सरोकारवालासँग समन्वय गर्दै निर्वाचन सम्पन्न गरिने विश्वास व्यक्त गर्नुभयो। साथै, आयोगले निर्वाचन सुरक्षाका लागि सरकारबाट भरपर्दो सहयोगको अपेक्षा राखेको उल्लेख गर्नुभयो।
छलफलमा अर्थमन्त्री रामेश्वर प्रसाद खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार सिन्हा, नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्याल, आयोगका आयुक्तद्वय डा. जानकी कुमारी तुलाधर र सगुन सम्शेर ज.ब.रा. तथा आयोगका सचिव महादेव पन्थसहित सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।