ई-आर्थिक, काभ्रे । ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक खण्डको अनुगमन गर्दै निर्माण कार्यको प्रगति र समस्या बारे स्थलगत जानकारी लिएका छन् ।
अनुगमनका क्रममा मन्त्री घिसिङले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, आयोजनाका प्रमुख र निर्माण व्यवसायीसँग समन्वयात्मक छलफल गर्नुभएको थियो। उहाँले आउँदै गरेको चाडपर्वको सन्दर्भमा यात्रुहरुको सहज आवतजावत सुनिश्चित गर्न सडकका खाल्डाखुल्डी तत्काल मर्मत गर्न निर्देशन दिए ।
छलफलमा मन्त्रीले बाँकी निर्माण कार्य छिटो टुंगोमा पुर्याउन, आवश्यक निर्णयहरू चाँडो गर्न, जनशक्ति र उपकरण थप परिचालन गर्न र चालु आर्थिक वर्षभित्रै सडक विस्तार सम्पन्न गर्ने गरी काम गर्न आग्रह गरेका छन् ।
हाल निर्माणाधीन १५.८ किलोमिटर सडक खण्ड अन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटरमा ३९ प्रतिशत भौतिक प्रगति भएको छ भने साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर खण्डमा ५१ प्रतिशत प्रगति भएको छ। आयोजनाको समग्र प्रगति ४५ प्रतिशत पुगेको छ।
टेवा पर्खाल तथा नाली निर्माणको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको छ भने लगभग १ किलोमिटर सडकमा कालोपत्रे सम्पन्न भएको जानकारी दिइएको छ। यद्यपि, सडक सीमा विवाद, संरचना हटाउने जटिलता र बजेट अभावका कारण निर्माण कार्यमा ढिलाइ भइरहेको बताइएको छ।

सडक विभागका महानिर्देशक विजय जैशीका अनुसार यो आयोजना सम्पन्न गर्न चालु आर्थिक वर्षमा करिब ३ अर्ब रुपैयाँ आवश्यक भए पनि हालसम्म ५० करोड मात्र बजेट विनियोजन गरिएको छ। मन्त्री घिसिङले बजेट अभाव हुन नदिन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।