काठमाडौं । हिन्दू धर्मावलम्बीहरूको महान् चाड बडादसैं आजबाट विधिपूर्वक सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिनसम्म श्रद्धा र भक्ति सहित मनाइने गर्दछ।
आजको दिनलाई घटस्थापना भनिन्छ। बिहान ९ बजेर १३ मिनेटको साइतमा पूजा कोठामा बालुवा वा माटो ल्याई लिपपोत गरिएको स्थानमा जौ रोपेर जमरा राख्ने परम्परा छ। यसैसाथ शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आव्हान गरी नवरात्र सुरु गरिएको हो।
नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीका रूपमा दुर्गा देवीको पूजा गरिन्छ। नवदुर्गाका नौ रूपहरूको पूजा प्रत्येक दिन विशेष विधिमा सम्पन्न हुन्छ।
यस अवसरमा देशभरका शक्तिपीठहरूमा विशेष पूजा–आराधना र दर्शनार्थीहरूको भीड लाग्ने गर्छ। काठमाडौंको हनुमानढोका दरबारस्थित दसैँ घरमा पनि परम्पराअनुसार आजैबाट जमरा राखी दुर्गा पूजा सुरु गरिएको छ।
विजयादशमी यस वर्ष असोज १६ गते पर्छ। टीका ग्रहणको उत्तम साइत बिहान ११:५३ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। कोजाग्रत पूर्णिमासम्म देवीको प्रसाद ग्रहण गर्ने परम्परा छ।
दसैंलाई पारिवारिक पुनर्मिलन र देवीशक्तिको विजयको प्रतीक पर्वको रूपमा मनाउने गरिन्छ।