ई-आर्थिक, काठमाडौं । लगातारको वर्षाका कारण पहिरो खसेर अवरुद्ध बनेको मुग्लिन–नारायणघाट सडकखण्ड आज साँझसम्म सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ।
पृथ्वी राजमार्गअन्तर्गत पर्ने उक्त खण्डमा ४० घण्टाभन्दा बढी समयदेखि यातायात पूर्ण रूपमा अवरुद्ध हुँदा यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन्।
सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नरहेसम्म साँझभित्र सडक सञ्चालनमा ल्याउने लक्ष्यसहित पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको जानकारी दिनुभयो। उहाँका अनुसार दसैँको बेला उपत्यकाबाट बाहिरिने यात्रुहरूलाई सहज आवागमन गराउन सडक खुलाउने प्रयास भइरहेको छ।
“मुख्य समस्या मुग्लिन–नारायणघाट र अरनिको राजमार्गमा देखिएको छ,” उहाँले भन्नुभयो, “अरनिको राजमार्गमा भारी वर्षा नभए तीन दिनभित्र सञ्चालनमा ल्याउने गरी काम अघि बढाइएको छ।”
सडक विभागका अनुसार हाल देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध छन्। तीमध्ये प्रमुख राजमार्गहरूमा पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–बेत्रावती–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी, रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले, र लेघुवाघाट–तुम्लिङटार–खाँदबारी–नुम–किमाथाङ्का (कोसी राजमार्ग) परेका छन्।
यसबाहेक, १६८ राजमार्गमा एकतर्फी रूपमा मात्रै सवारीसाधन सञ्चालन भइरहेको विभागले जनाएको छ।