ई-आर्थिक, बैतडी । लगातारको वर्षाका कारण बैतडीको सिल्लेगडा–कालागाउँ–पुर्चौडी सडक खण्ड तीन दिनदेखि अवरुद्ध बनेको छ।
दोगडाकेदार गाउँपालिका–२ स्थित डाँडाइजर भन्ने स्थानमा गएको पहिरोले सडक अवरुद्ध भएको र अझै पनि पहिरो खसिरहेकाले जोखिम बढिरहेको स्थानीय स्रोतले जानकारी दिएको छ।
रौलेश्वर मावि कफलकोटका प्रधानाध्यापक नरेन्द्र भाटले मंगलबारदेखि सडक पूर्ण रूपमा बन्द भएको जानकारी दिए। लगातारको झरीका कारण पहिरो हटाउन समेत कठिनाइ भइरहेको छ।
सडक अवरुद्ध हुँदा सवारी साधनको आवागमन पूर्णरूपमा ठप्प भएको छ भने स्थानीयवासीहरूलाई हिँडडुल गर्नसमेत मुस्किल परेको छ। पैदल यात्रुहरू पनि जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।
स्थानीय बासिन्दाहरूले सम्बन्धित निकायसँग यथाशीघ्र पहिरो पन्छाइ सडक सञ्चालनमा ल्याउन माग गरेका छन्। तर अहिलेसम्म कुनै प्रभावकारी कदम नचालिएको उनीहरूको गुनासो छ।
सडक अवरुद्ध हुँदा विद्यालय, स्वास्थ्य संस्था तथा बजार आवतजावतमा समेत समस्या परेको जनाइएको छ।