२०८३ साउन १२ मंगलबार

कुन क्षेत्रको अवस्था कस्तो ?

ई आर्थिक    मंगलबार, भाद्र ३१ २०८२
2K
Shares
कुन क्षेत्रको अवस्था कस्तो ?

ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनाको समग्र आर्थिक सूचकाङ्कहरूले मुलुकको आर्थिक स्थिति सन्तुलित रहेको संकेत गरेका छन्। नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक तथ्याङ्कअनुसार, वार्षिक विन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति १.६८ प्रतिशत रहेको छ, जुन विगत केही वर्षहरूमध्ये एकदमै नियन्त्रणमा रहेको स्तर मानिन्छ।

देशको कुल विदेशी विनिमय सञ्चिति रु. २८०६ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २० अर्ब ३ करोड रहेको छ, जुन १६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। विदेशी क्षेत्रीय स्थायित्व झल्काउने अन्य सूचकहरूमा पनि सुधार देखिएको छ।

समीक्षा अवधिमा चालु खाता रु. ७८ अर्ब १४ करोड र शोधनान्तर स्थिति रु. ८९ अर्ब ३० करोड बचतमा रहेको छ, जुन अघिल्ला अवधिहरूको तुलनामा सकारात्मक परिर्वतन मानिन्छ।

यही अवधिमा विप्रेषण आप्रवाहमा उल्लेखनीय वृद्धि भएको छ। नेपाली रुपैयाँमा २९.९ प्रतिशत र अमेरिकी डलरमा २५ प्रतिशत ले वृद्धि भएको विप्रेषण रु. १७७ अर्ब ४१ करोड पुगेको छ। यो रकमले वैदेशिक रोजगार तथा प्रवासी नेपालीहरूको योगदान झल्काउँछ।

व्यापारतर्फ पनि सुधार देखिएको छ। निर्यात ९५.७ प्रतिशत ले वृद्धि भएको छ भने आयात ११.४ प्रतिशत ले बढेको छ। यद्यपि, निर्यात वृद्धिदर उच्च भए पनि आयातमा निर्भरता कायम छ।

नेपाल सरकारको राजस्व संकलन रु. ८४ अर्ब ४७ करोड रहेको छ भने कुल खर्च रु. ४६ अर्ब ३१ करोड मात्र रहेको छ। यसले सरकारको खर्चभन्दा राजस्व संकलन बढी रहेको अवस्था देखाउँछ, जसले बजेटीय घाटा घटाउने सम्भावना संकेत गर्छ।

मुद्राप्रदायतर्फ हेर्दा, साउन महिनामा विस्तृत मुद्राप्रदाय ०.७ प्रतिशतले घटेको भए पनि वार्षिक विन्दुगत आधारमा १२.५ प्रतिशतले वृद्धि भएको छ। यसले मौद्रिक नीतिको प्रभाव र तरलता व्यवस्थापनमा ध्यान दिइएको देखिन्छ।

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप परिचालन साउनमा ०.८ प्रतिशतले घटेर रु. ७२०८ अर्ब ९ करोड पुगेको छ भने निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.१ प्रतिशतले घटेर रु. ५४९५ अर्ब मा सीमित भएको छ। यद्यपि, वार्षिक विन्दुगत आधारमा निक्षेप १२.५ प्रतिशत र कर्जा ८ प्रतिशतले वृद्धि भएको छ।

बैंकिङ ब्याजदरहरू समेत सन्तुलित देखिएका छन्। अन्तरबैंक कारोबारको भारित औसत ब्याजदर २.७५ प्रतिशत र ९१–दिने ट्रेजरी बिलको ब्याजदर २.६५ प्रतिशत रहेको छ। यस्तै, वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ४.०२ प्रतिशत र कर्जाको ब्याजदर ७.७६ प्रतिशत कायम भएको छ।

समीक्षा अवधिमा देखिएका यी समग्र सूचकहरू मुलुकको मौद्रिक, वित्तीय र वैदेशिक क्षेत्रीय अवस्था सन्तुलनतर्फ उन्मुख भएको संकेत गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij