ई-आर्थिक, काठमाडौं । मुलुकमा उत्पन्न पछिल्लो राजनीतिक र संवैधानिक अन्योलको सन्दर्भमा राष्ट्रिय मानव अधिकार आयोगले सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलसँग सम्पर्क राखेको जनाएको छ। आयोगले मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनको जगमा समस्या समाधान खोज्नुपर्ने धारणा राष्ट्रपति समक्ष प्रस्तुत गरेको छ।
आयोगका अनुसार राष्ट्रपति समक्ष वर्तमान संकटपूर्ण अवस्थाको संवैधानिक, लोकतान्त्रिक र मानव अधिकारमैत्री ढंगबाट निकास निकाल्न आग्रह गरिएको छ। “मानव अधिकार, लोकतान्त्रिक मूल्य–मान्यता र कानूनी शासनको अवधारणाको जगमा निकास निकाल्न उचित हुन्छ भन्ने आयोगको धारणा छ,” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
आयोगले राष्ट्रपतिबाट मानव अधिकार, लोकतन्त्र, शान्ति स्थापना र कानूनी शासनको रक्षाका लागि आवश्यक पहल हुनेमा विश्वास व्यक्त गरेको छ।
सरोकारवालासँग निरन्तर संवादमा आयोग
आयोगले राष्ट्रपति मात्र होइन, संकट समाधानमा भूमिका खेल्न सक्ने अन्य सरोकारवाला पक्षहरूसँग पनि निरन्तर संवाद र समन्वय गरिरहेको जनाएको छ। आयोगका अनुसार यो पहल मुलुकमा विधिको शासन र नागरिकको अधिकारको सुनिश्चितताप्रति प्रतिबद्ध रहने सन्देश हो।