२०८३ साउन ९ शनिबार

नेपाली सेनाको अपिल: शान्ति सुरक्षाको लागि निषेधाज्ञा र कर्फ्यू आदेशमा साथ दिन अनुरोध

ई आर्थिक    बुधबार, भाद्र २५ २०८२
3.5K
Shares
नेपाली सेनाको अपिल: शान्ति सुरक्षाको लागि निषेधाज्ञा र कर्फ्यू आदेशमा साथ दिन अनुरोध

ई-आर्थिक, काठमाडौं ।  हाल मुलुकमा जारी आन्दोलन र त्यसपछिका अराजक गतिविधिलाई नियन्त्रण गर्नका लागि नेपाली सेनाले आज एक विज्ञप्ति जारी गर्दै आम नागरिकलाई संयमित र जिम्मेवार बन्न अपिल गरेको छ।

जनसम्पर्क तथा सूचना निर्देशनालय, जङ्गी अड्डाबाट जारी गरिएको विज्ञप्तिमा हाल मुलुकको शान्ति सुरक्षालाई ध्यानमा राखी भदौ २५ गते साँझ ५ बजे (१७:०० बजे) सम्म निषेधाज्ञा जारी रहेको र त्यसपछि भोलि भदौ २६ गते बिहान ६ बजे (०६:०० बजे) सम्म कर्फ्यू आदेश लागु हुने जानकारी दिइएको छ।

विज्ञप्तिमा आन्दोलनको नाममा भइरहेको लुटपाट, तोडफोड, आगजनी, बलात्कारको प्रयास, र हिंसात्मक गतिविधिहरुप्रति गहिरो चिन्ता व्यक्त गर्दै यस्तो अराजक कार्यमा संलग्नलाई कडा कारबाही गरिने चेतावनी दिइएको छ।

नेपाली सेनाले देशको शान्ति सुरक्षाको जिम्मेवारी पूरा गर्न नागरिकहरुले दिएको सहयोगप्रति आभार व्यक्त गर्दै सबै पक्षसँग सहकार्य गर्न आह्वान गरेको छ। साथै, अत्यावश्यक सेवाका सवारी साधन—जसमा एम्बुलेन्स, शव वाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडी—निषेधाज्ञा र कर्फ्यू अवधिमा सञ्चालन गर्न सकिने र त्यसका लागि नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न अनुरोध गरिएको छ।

नेपाली सेनाले अवकाशप्राप्त सैनिक, राष्ट्रसेवक, सञ्चारकर्मी र सम्पूर्ण नागरिकलाई अफवाहमा नलागी केवल आधिकारिक सूचनामा विश्वास गर्न र सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।

नेपाली सेनाले जुनसुकै परिस्थितिमा पनि सम्पूर्ण नेपालीको सुरक्षा र मानवीय उद्धारमा प्रतिवद्ध रहिरहने उल्लेख गर्दै सुरक्षाकर्मीहरुलाई सहयोग गर्न सबैमा आग्रह गरेको छ। सेनाले शान्ति सुरक्षाको स्थायीत्वका लागि सबै नागरिकले आफ्नो दायित्व बुझेको अपेक्षा गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij