सामाजिक संजालमा आउने विभिन्न प्रकारका औषधिहरुको विज्ञापन हाम्रा लागि चुनौतिको रुपमा अगाडि आएको छ । यसको लागि अफिस पनि नचाहिने, कही कतै दर्ता पनि हुनुपर्ने, जुनसुकै ठाउँमा बसेर पनि व्यापार गर्न सकिने भएकाले हामीलाई नियन्त्रण गर्न केही गाह्रो परेको छ । यसलाई नियन्त्रण गर्न औषधि व्यवस्था विभाग सक्रियताका साथ लागिरहेको छ । अहिले धेरैमात्रमा नियन्त्रणमा पनि आइसकेको छ । अझ यसलाई प्रभावकारीरुपमा नियन्त्रण गर्नका लागि हामीले एउटा मापदण्ड बनाउँदै छौं । यसका लागि औषधि व्यवस्था विभागले गृहकार्य गरिरहेको छ । यो मापदण्ड लागू भएपछि धेरैहदसम्म नियन्त्रणमा आउने छ । मापदण्ड लागूभएपछि पनि यस्तो कार्य गरेको पाइएमा हामीले कडा भन्दा कडा कार्बाही गर्ने छौं ।
नारायण प्रसाद ढकाल
महानिर्देशक, औषधी व्यवस्था विभाग
औषधि व्यवस्था विभाग अहिले के गरिहेको छ ?
औषधि व्यवस्था विभागले मुख्यतया औषधि ऐनको कार्यान्वयन गरिरहेको छ । औषधि ऐनले नेपालमा औषधि उत्पादन कत्तिको गुणस्तरीय छ, वितरण प्रणाली कस्तो छ, बजार निरिक्षण तथा नियन्त्रण गर्ने जस्ता कामहरु गरिरहेको छ । त्यस्तै औषधि सम्बन्धी नीति नियम बनाई तिनीहरुलाई कार्यान्वयन गर्ने जिम्ममा पनि हामीलाई दिइएको छ त्यो जिम्मेवारी कार्यान्वयन गर्ने काम हामीले गरिरहेका छौं ।
अहिले विभिन्न संचार माध्यम खासगरी सामाजिक संजालहरुमा रोग निको नभए पैसा फिर्ता, शत प्रतिशत क्यान्सर रोग निको पार्ने, कापाल झर्न रोकिने जस्ता स्वास्थ्यसँग प्रत्यक्ष असर पार्ने औषधिहरुको निर्वाधरुपमा विज्ञापन गरेको पाइन्छ । यस्तो कार्य नगर्न
तपाईहरुले बारम्बार विज्ञप्ति जारी गर्नुहुन्छ । र पनि रोकिएको छैन । किन होला ?
वास्तवमा यो एउटा हाम्रो लागि चुनौतिको रुपमा अगाडि आएको छ । यसको लागि अफिस पनि नचाहिने, कही कतै दर्ता पनि हुनुपर्ने, जुनसुकै ठाउँमा बसेर पनि व्यापार गर्न सकिने भएकाले हामीलाई नियन्त्रण गर्न केही गाह्रो परेको छ । यसलाई नियन्त्रण गर्न औषधि व्यवस्था विभाग सक्रियताका साथ लागिरहेको छ । अहिले धेरैमात्रमा नियन्त्रणमा पनि आइसकेको छ । अझ यस प्रभावकारीरुपमा नियन्त्रण गर्नका लागि हामीले एउटा मापदण्ड बनाउँदै छौं । यसका लागि औषधि व्यवस्था विभागले गृहकार्य गरिरहेको छ । यो सम्बन्धी हामीले चाँडै नै एउटा मापदण्ड लागू गर्दैछौं । यो मापदण्ड लागू भएपछि धेरैहदसम्म नियन्त्रणमा आउने छ । मापदण्ड लागूभएपछि पनि यस्तो कार्य गरेको पाइएमा हामीले कडा भन्दा कडा कार्बाही गर्ने छौं ।
यस्तो औषधिहरु प्रायजसो विदेशबाट ल्याउने गरेका पाइएको छ । यसलाई औषधि नभनि खाद्य वस्तु भनेर भित्र्याउने गरेको पाइएको छ । हामीले विभिन्न भंसार कार्यालयहरुलाई यसको जानकारी गराइसकेका छौं । भंसार जाँचसामा कडाइ हुनेछ र यसलाई त्यही रोकिने छ भन्ने हामीले आशा गरेका छौं ।
मापदण्ड बनेपछि यो नियन्त्रण हुन्छ त ?
अवस्य हुन्छ । पूर्णरुपमा नियन्त्रण नभएपनि धेरैहदसम्म नियन्त्रण हुन्छ ।
मापदण्ड नभएर नै हो त यसलाई नियन्त्रण गर्न नसकिएको ?
केही हदसम्म यसलाई नियन्त्रण गर्न मापदण्ड नभएर पनि सकिरहेको छैन । मापदण्ड बनेपछि सबैले त्यही मापदण्डमा बाँधिएर काम गर्नुपर्छ । मापदण्डभन्दा बाहिर जाने वित्तिकै कार्बाहीको भागिदार हुनुपर्छ । अर्को भनेको मापदण्ड बनेपछि के काम गर्न हुन्छ, के काम गर्न हुदैन भनेर बुझ्ने अवसर पाइन्छ । यस्तो काम गर्न नहुने रहेछ , यस्तो काम गर्न हुने रहेछ भनेर उनीहरुले बुझ्छन् । यसले गर्दा धेरै नियन्त्रण हुन्छ ।
नबुझेका नजानेका मान्छेले गरेका हुन् त यस्तो कार्य ?
यसमा दुवै थरिका मान्छे संलग्न हुँदा रहेछन् । एउटा बुझेका मान्छे हुन्छ, ऊ कहाँ हुन्छ थाहा हुँदैन । उसैले यस्तो कार्य उसैले संचालन गर्छ । अर्को सामान पु¥याउने मान्छे हुन्छ, उसलाई यो थाहा हुदैन । यो ठाउँमा पु¥याउदेउ भन्छ, उसले भनेको ठाउँमा पु¥याउने काम गर्छ । कार्बाहरुको भागिदार पु¥याउने व्यक्ति हुन्छ, मुख्य मान्छे सम्म त पुग्नै गाह्रो हुन्छ ।
मापदण्ड बनाएर नियन्त्रण गर्छौ त भन्नु भयो । तर त्यति सजिलै यो नियन्त्रण गर्न सकिन्छ जस्तो लाग्दैन । किनभने सामाजिक संचालमार्फत विश्वको जुनसुकै ठाउँमा बसेर पनि यो कार्य गर्न सकिन्छ । यदि तपाईले नियन्त्रण नै चाहनुहुन्छ भने जनचेतनामुलक कार्यक्रम ल्याउनै पर्छ होइन र ?
हो, वास्तवमा तपाईले सही भन्नुभयो । हामीले ल्याउन लागेको मापदण्डले काम गर्ने मान्छेलाई नियन्त्रण गर्छ भने जनचेतनामुलक कार्यक्रमले प्रयोग गर्ने मान्छेलाई जागरुक बनाउँछ । जब प्रयोग गर्ने मान्छ जागरुक हुन्छन्, त्यो आफै नियनत्रण हुन्छ । यसका लागि हामीले ‘ड्रग्स’ सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन पनि गरिरहेका छौं । आगामी दिनमा देशका प्राय सबै ठाउँमा ‘ड्रग्स’सम्बन्धी विभिन्न जनचेतनामुलक कार्यक्रमहरु अझ प्रभावकारी रुपमा अगाडि बढाउँछौं ।

नेपालका औषधिहरु कत्तिको गुणस्तरीय छन् ?
सीधा भन्दा खेरी औषधि गुणस्तरीय नै हुनुपर्छ । औषधि भनेको गुणस्तरहिन हुनुहुदैन । हाम्रो ल्यावमा टेष्ट गर्दा कतिपयप औषधिहरु गुणस्तरहिन पनि भेटिन्छन् । यस्तो औषधिहरुलाई हामीले रोकेका छौं । विश्वमा कहीपनि शतप्रतिशत गुणस्तर भन्ने हुदैन । यसलाई हामीले सापेक्षितरुपमा हेर्नुपर्छ । हाम्रो देशमा पनि केही प्रतिशत औषधिहरु कम गुणस्तरका छन् । ती यही उत्पादन भएका पनि छन् र आयात गरिएका पनि छन् ।
अर्को भनेको आयात गर्दाको समयमा अथवा कम्पनीमा उत्पादन भएको समयमा गुणस्तरीय औषधि भएतापनि त्यसलाई भण्डारण गर्ने ठाउँले पनि ठूलो ‘म्याटर’ राख्छ । गुणस्तरीय औषधि गलत तरिकाले भण्डारण गरियो भने, गलत तरिकाले ढुवानी गरियो भने बिरामी सम्म पुग्दा त्यो औषधि गुणस्तरहिन पनि बन्न सक्छ । त्यसैले गुणस्तरको कुरा गर्दा कुनै पनि औषधि उत्पादन देखि बिरामीसम्म आइपुग्दा जुन जुन ‘लेयर’हरु पार गरेर आउँछन्, जस्तो कि उत्पादन, भण्डारण, दुवानी, खुद्रा वितरण जस्ता विभिन्न ‘लेयर’हरु पार गर्नुपर्ने हुन्छ । त्यो ठीक र सही तरिकाले गरियो भने त्यो औषधि गुणस्तरीय हुन्छ ।
उत्पादनदेखि बिरामीको मुखसम्म गुणस्तरीय औषधि पुग्नका लागि एउटा ‘रि–साइकल’ नै पार गर्नुपर्दो रहेछ । नेपालमा यो कत्तिको लागू भएको छ ?
यो ‘डेफिनेट्ली’ लागू भएको छ । स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने कुरा भएकाले यसको विकल्प नै छैन । लागू हुनै पर्छ । औषधि उत्पादन गर्ने कम्पनीका लागि भनेर हामीले ‘गुड म्यनुफ्याक्सर प्राक्टिस, जीएफपी’ भनेर उत्पादन संहिता लागू गरेका छौं । अहिले ५९ वटा कम्पनीहरुले यसको प्रमाणपात्र लिइसकेका छन् । बाँकी कम्पनीहरुले पनि यो प्रमाणपत्र लिनका लागि निवेदन दिएका छन् । अर्को भनेको उत्पादन भएको औषधिलाई विभिन्न ठाउँमा पु¥याउने काम होलसेलहरुले गर्दछन् । उनीहरुका लागि भनेर हामीले ‘गुड डिष्टिब्युसन प्राक्टिस’ भनेर मापदण्ड बनाएका छौं । उनीहरुले यही मापदण्डमा रहेर काम गरिरहका हुन्छन् । त्यस्तै फार्मेसीहरुका लागि पनि ‘गुड फार्मेसी प्राक्टिस जीपीपी’ भनेर ‘गाइड लाइन्स’ बनाएका छौं । त्यही ‘गाइड लाइन्स’ अनुसार उनीहरुले काम गरिरहेका हुन्छन् । हामीले बनाएको मापदण्ड भित्र रहेर काम गरेका छन् कि छैनन भने हामीले समय समयमा अनुगमन पनि गर्ने गरेका छौं । यसरी निरिक्षण गर्दा धेरैले पालना गरेको पाइएको छ । केहीले नबुझेर र अन्य विविध कारणले गर्दा पालना नगरेको पाइएको छ । यसको हकमा हामीले कतिपयलाई सम्झाई बुझाई गरेर नियम पालना गराएका छौं भने कतिलाई कार्बाही पनि गरेका छौ । यसरी औषधि गुणस्तरीय राख्नका लागि जुन जीवनपथ छ, त्यही जीवनपथ अनुसार नै हामी अगाडि बढिरहेका हुन्छौं ।
अहिले पनि धेरै विरामीहरुले विदेशी औषधि नै खाइरहेको पाइन्छ । एउटा घटना के भयो भने भक्तपुरको एउटा कोलेस्ट्रोलको विरामीले विदेशी औषधि खाइरहेको रहेछ । उसले आफूले खाइरहेको औषधिको पत्ता लिएर फार्मेसीमा देखाउँदै त्यही औषधि माग्यो । फार्मेसीले त्यो औषधि छैन । तर त्यस्तै काम गर्ने नेपाली औषधि छ भनेर जवाफ दियो । विरामीले त्यो औषधि नलिई अर्को फार्मेसी गयो । यसको मतलव नेपालका औषधिप्रति विरामीको विश्वास छैन भन्ने बुझिन्छ । तपाईलाई कस्तो लाग्छ ?
कुनैपनि विरामीले विदेशी औषधि सेवन ग¥यो भन्दैमा नेपाली औषधिहरु गुणस्तरहीन छन् भन्ने होइन । नेपाली औषधिहरु कम गुणस्तरका र विदेशी औषधिहरु बढी गुणस्तरका छन् भन्ने वैज्ञानिक आधार केही पनि छैन । नेपाली औषधिहरु उत्पादन गर्नुपूर्व विभिन्न ल्याव टेष्टहरु गरिन्छ । र, त्यो पास भएपछि मात्र उत्पादन अनुमति दिइन्छ । उत्पादन हुनुभन्दा पहिला नै विभिन्न ल्याव टेष्ट गरिने भएकाले जति पनि बजारमा आएका औषधिहरु छन्, ती गुणस्तरीय नै छन् । अर्को भनेको विरामीको ‘च्वाइस’ को कुरा आउँछ । उसलाई विदेशी औषधि सेवन गर्ने बानी परिसकेको छ भने नेपाली औषधि नै सेवन गर भनेर ‘फोर्स’ गर्न मिल्दैन । यो भनेको उसको अधिकारको कुरा हो । तर यसकै आधारमा यहाँ उत्पादन भएका औषधिहरु कम गुणस्तरका र बाहिरबाट आउने औषधिहरु बढी गुणस्तरका भन्नु चाँही गलत हो ।

नेपालमा सबै प्रकारकार रोगको औषधिहरु उत्पादन हुन्छन् ?
छैनन् । हामीले मानिसहरुलाई चाहिने भ्याक्सिनहरु बनाउन सकिरहेका छैनौं । रगतसँग सम्बन्धित औषधिहरु धेरै कम छन् । त्यस्तै विभिन्न बायोटेक्नोलोजिमा आधारित औषधिहरु नेपालमा बन्दैनन । यस्ता औषधिहरु हामीले बाहिरबाट आयात गर्नुपर्छ ।
भ्याक्सिन, रगत सम्बन्धी औषधिहरु र बायोटेक्नोलोजमा आधारित औषधिहरु नेपालमा पाइदैन भन्नु भयो । के यो नेपालमा उत्पादन नै गर्न नसकिने हो ?
उत्पादन नै गर्न नसक्ने भन्ने चाँही हुदैन । यसलाई दुई तीनवटा ‘डाइमेनसन’मा हेर्नुपर्ने हुन्छ । पहिलो भनेको प्रविधिको कुरा आउँछ । यस्ता प्रकारका औषधिहरु उत्पादन गर्ने हामीसँग प्रविधि छैन । प्रविधि बाहिरबाट ल्याउनु पर्छ । र, यो धेरै महंगो पर्छ । त्यस्तै अर्को भनेको दक्षजनशक्तिको कुरा आउँछ । हामीकहाँ यस सम्बन्ध दक्षजनशक्ति छैन । यदि हामीले प्रविधि, दक्षजनशक्ति लगायत सबै कुराहरु बाहिरबाट ल्याएर उत्पादन ग¥यौं भने हाम्रो लागत बढी हुन्छ । लागत बढी भएका कारणले औषधिको मूल्य पनि बढी हुन्छ । र, बढी मूल्यमा हामीले बिक्री गर्न सक्दैनौं । बजारमा त्यही ‘प्रोडक्ट’ सस्तोमा पाइन्छ भने कसैले पनि बढी मूल्य हालेर त हाम्रो ‘प्रोडक्ट’ किन्दैन । त्यस्तै अर्को भनेको डिमाण्डको कुरा आउँछ । कुनै एउटा औषधि हामीलाई वर्षमा ४० हजार फाइल आवश्यक पर्छ । त्यहीको लागि उद्योग खोलेर ‘सस्टेन’ हुन सकिदैन । यी र यस्तै कारणहरुले गर्दा यी औषधिहरु नेपालमा उत्पादन नभएका हुन ।
नेपाली औषधिहरुको बजार कस्तो पाउनुहुन्छ ?
राम्रो छ । बजार बढ्दो क्रममा छ । पहिलाको तुलनामा धेरै राम्रो छ । धेरै नेपाली औषधिहरुले विदेशी औषधिहरुलाई प्रतिस्धापन गर्न सफल भएका छन् । अहिले ५० प्रतिशत भन्दा बढी नेपाली औषधिहरुले बजार ओगट्न सफल भएका छन् । यो भनेको धेरै राम्रो हो । आज भन्दा १०– १५ वर्ष अगाडिको कुरा गर्ने हो भने यहाँ विदेशी औषधिको दबदबा थियो । कुनै पनि फार्मेसीले नेपाली औषधि राख्न चाहदैन थिए । अहिले हेर्ने हो भने प्रत्येक फार्मेसीमा नेपाली औषधि पाइन्छ । अहिले त नेपाली औषधिहरु विदेश निर्यात पनि गर्न थालिएको छ । त्यसैले आगामी दिनमा नेपाली औषधिको बजार धेरै राम्रो देख्नु म त ।
नेपाल जडिबुटीको खानी नै भनिन्छ । र पनि कच्चा पदार्थ बाहिरबाट नै ल्याइन्छ । किन होला ?
नेपाल जुडिबुटीको खानी भनियता पनि सबै प्रकारका जडिबुटीहरु एकै ठाउँ पाइदैन । कच्चा पदार्थ संकलन गरी नियमित आपुर्ति गर्ने बलियो संयन्त्र हामीकहाँ छैन । यहाँ ढुवानीको ठूलो समस्या छ । उद्योगलाई नियमितरुपमा कच्चा पदार्थ आपुर्ति भइरहनुपर्छ । बीचमा रोकिनु हुदैन । त्यसैले पनि बहिरबाट कच्चा पदार्थ आपूर्ति गरिन्छ । यहाँ त यस्तो सम्म हुन्छ कि नेपालको जडिबुटीहरु देश बाहिरका ‘भेन्डर’हरुले पठाइरहेका हुन्छन् । उनीहरुले नेपालका विभिन्न ठाउँबाट जडिबुटीहरु संकलन गरी कच्चा पदार्थको रुपमा नेपाल पठाउने गर्दछन् । उनीहरुले जहाँबाट भएपनि उद्योगहरुलाई नियमितरुपमा कच्चा पदार्थ उपलब्ध गराइहेका हुन्छन् । त्यही भएर पनि नेपालका उद्योगीहरुले विदेशी ‘भेण्डर’बाट नै कच्चा पदार्थ मगाउने गरेका छन् ।
आयुर्वेद औषधिको कुरा गर्दा नेपाल कस्तो अवस्थामा छ ?
आयुर्वेदको कुरा गर्दा नेपाल त्यति राम्रो अवस्थामा छैन । उद्योगको हिसाबले हेर्ने हो भने ५० वटा भन्दा बढी छन् । अधिकांश उद्योगहरुको ध्यान भनेको चुण उत्पादनमा छ । बजारमा माग पनि यसकै बढी भएर होला उद्योगहरुले यसैलाई फोकस गरेका हुन् । सिंहदरबार वैद्यखानाबाट धेरै प्रकारका आयुर्वेद औषधिहरु बनाउन सकिन्छ । तर विभिन्न कारणले गर्दा यो औषधि उद्योग कस्तो अवस्थामा छ, भनिराख्नु पर्दैन । यसमा पनि बाहिरका औषधिले काम गर्ने, यहाँका औषधिले काम गर्ने भन्ने गलत धारणा छ । जस्तो कि रामदेवले उत्पादन गरेको आयुर्वेद औषधिले यहाँ राम्रो बजार लिइरहेको हुन्छ । तर यहाँ उत्पादन भएको त्यही औषधि भने बजार नपाएर बन्द हुने अवस्था आउँछ । यस्ता कारणले गर्दा आयुर्वेद औषधिको बजार त्यति राम्रो छैन ।
