२०८३ साउन ११ सोमबार

नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाको दाबी, निर्णय प्रक्रिया सुरु

ई आर्थिक    आइतबार, भाद्र २२ २०८२
3.8K
Shares
नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जनाको दाबी, निर्णय प्रक्रिया सुरु

ई-आर्थिक, काठमाडौं ।  नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जना आकांक्षीले औपचारिक रूपमा आवेदन दिएका छन्। सरकारद्वारा गठित अध्यक्ष चयन समितिले सात दिनको सूचना जारी गरेपछि तोकिएको समयसीमाको अन्तिम दिनसम्म १३ जना व्यक्तिहरुले आफ्नो उम्मेदवारी पेश गरेका हुन्।

सूचीमा सबैभन्दा पहिले नाम दर्ता गराउने व्यक्ति बिक्रान्त पाण्डे हुन्, जसले यसअघि पनि सो पदका लागि आवेदन दिएका थिए। यस्तै, युनाइटेड इन्स्योरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत तथा हाल लुम्बिनी जनरल इन्स्योरेन्समा डेपुटी सिइओको जिम्मेवारीमा रहेका रमेश भट्टराई पनि प्रतिस्पर्धामा छन्।

यसपटक कर्जा सूचना केन्द्रका पूर्व कार्यकारी निर्देशक विष्णु बाबु मिश्र र राष्ट्रिय वाणिज्य बैंकका वर्तमान अध्यक्ष एवं नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक देवकुमार ढकालले पनि आवेदन दिएका छन्। साथै, पूर्व सचिव महेश्वर न्यौपानेको नाम पनि प्रतिस्पर्धीको सूचीमा परेको छ।

गएको वर्ष सोही पदका लागि आवेदन माग गर्दा १२ जनाले मात्र आवेदन दिएका थिए भने यसपटक संख्यामा थोरै वृद्धि देखिएको छ। यद्यपि, राजनीतिक पहुँच र भागबण्डाको चलन कायमै रहेको आरोप पनि सार्वजनिक रूपमा उठिरहेको छ। केही योग्य उम्मेदवारहरूले यही कारणले आवेदन नदिएको बताइएको छ।

अब अध्यक्ष चयन समितिले प्राप्त आवेदनहरू मूल्याङ्कन गरेर सिफारिस प्रक्रिया अघि बढाउनेछ। यसअघिका अध्यक्ष सरद ओझालाई सरकारले पदबाट हटाएको पृष्ठभूमिमा अहिलेको नियुक्ति प्रक्रिया थप चासोको विषय बनेको छ।

राजनीतिक वृत्तमा भइरहेको चर्चा अनुसार, वर्तमान सत्ता गठबन्धनमा गभर्नर र धितोपत्र बोर्डको अध्यक्ष पद नेपाली कांग्रेसको भागमा परेकाले बीमा प्राधिकरणको अध्यक्ष पद नेकपा एमालेले पाउने अनुमान गरिएको छ। यस्तो अवस्थामा नेपाल राष्ट्र बैंकबाट अवकास प्राप्त देवकुमार ढकालको नाम सम्भाव्य उम्मेदवारको सूचीमा अगाडि देखिएको विश्लेषकहरू बताउँछन्।

तर, सबै उम्मेदवारहरूको नाम सार्वजनिक भइनसकेको र अन्तिम निर्णय प्रक्रियामा अझै समय लाग्ने भएकाले अध्यक्ष कसले बन्ने भन्ने यकिन अनुमान लगाउन कठिन छ। समिति अब निष्पक्ष मूल्याङ्कनका आधारमा योग्य व्यक्तिको सिफारिस गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij