काठमाडौं : वैदेशिक रोजगारीका सिलसिलामा दक्षिण कोरिया पठाइदिने भन्दै इसेभेन (E-7) भिसाको नाममा हुने ठगीप्रति सरकारले कडा चेतावनी दिएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार विभागले बुधबार एक विज्ञप्ति जारी गर्दै अहिलेसम्म इसेभेन भिसामा कामदार पठाउन कुनै पनि संस्था वा व्यक्तिलाई पूर्वस्वीकृति नदिएको स्पष्ट पारेको हो।
विभागले हाल आएर इसेभेन भिसाको नाममा गैरकानुनी रूपमा प्रचार–प्रसार गरी रकम असुली भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
विभागका अनुसार, दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि, २०८० हाल कार्यान्वयनको चरणमा रहेकाले अहिलेसम्म कुनै पनि संस्था वा कम्पनीलाई इसेभेन भिसाका लागि आधिकारिक प्रक्रिया सुरु गर्न स्वीकृति दिइएको छैन।
साथै, दक्षिण कोरियास्थित नेपाली राजदूतावासमार्फत पनि यस्तो प्रकारको भिसाका लागि मागपत्र प्रमाणीकरणका लागि कुनै आवेदन नपरेको विभागले जनाएको छ।
विभागले इसेभेन भिसाको नाममा सामाजिक सञ्जाल तथा अन्य अनौपचारिक माध्यममार्फत ठगी गर्न खोज्ने व्यक्ति वा संस्थाको जालोमा नपर्न सबैमा अपिल गरेको छ।
विभागका उपमहानिर्देशक चन्द्रबहादुर शिवाकोटीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, “कुनै पनि व्यक्ति वा संस्थाले E-7 भिसामा कोरिया पठाइदिन्छु भन्दै रकम माग गरेमा प्रलोभनमा नपरी, अनधिकृत रूपमा रकम बुझाउने कार्य नगर्नु/नगराउनु हुन हार्दिक अनुरोध गरिन्छ।”
-
इसेभेन भिसामा कोरिया पठाउन कुनै संस्था आधिकारिक छैन
-
कोरियाली दूतावासमा मागपत्र प्रमाणीकरणको आवेदनसमेत परेको छैन
-
ठगीबाट सचेत रहन विभागको आग्रह
-
प्रलोभनमा परेर रकम बुझाएमा कानुनी झमेला पर्ने सम्भावना
यदि कोरियामा रोजगारीका लागि जान चाहनुहुन्छ भने सरकारी निकायद्वारा प्रमाणित तथा अधिकृत माध्यमबाट मात्र प्रक्रिया अघि बढाउनुहोस्। अनधिकृत व्यक्ति वा संस्थाको झुटो प्रलोभनमा परेर आर्थिक तथा वैधानिक जोखिम उठाउनु पर्ने अवस्था नआओस्।