ई-आर्थिक, भक्तपुर । भक्तपुरको प्रमुख पर्यटकीय क्षेत्र घ्याम्पेडाँडा हुँदै रानीकोटबाट काभ्रेको पनौती जोड्ने सडकको स्तरोन्नति कार्य सुरु गरिएको छ। बारम्बार पहिरोले सडक अवरुद्ध भएपछि आवागमनमा समस्या सिर्जना हुनुका साथै पर्यटन व्यवसाय प्रभावित भएपछि स्थानीय सरकारले सडक मर्मतको नेतृत्व लिएको हो।
सूर्यविनायक चोकबाट पनौती जोड्ने यो छोटो वैकल्पिक मार्गमा पहिरोका कारण सवारी आवागमन ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटकसँगै स्थानीयवासीलाई समेत सास्ती भोग्नुपरेको थियो। यसले स्थानीय पर्यटन व्यवसाय र दैनन्दिन आपूर्ति प्रणालीमा समेत प्रतिकूल असर पारेको थियो।
सूर्यविनायक नगरपालिका वडा नं ८ का अध्यक्ष तथा नगर प्रवक्ता रवीन्द्र सापकोटाका अनुसार, पहिरोले सडक जोखिमपूर्ण बनेको जानकारी पाएलगत्तै शनिबारदेखि लागत व्यहोर्ने गरी मर्मत तथा स्तरोन्नति कार्य सुरु गरिएको हो।
रानीकोटस्थित भिलेज होटल हाइल्याण्ड रिसोर्टका सञ्चालक रामसुन्दर बकेँले सडक मर्मत सुरु हुनुले पर्यटन व्यवसायीलाई राहत मिलेको बताएका छन्। उनका अनुसार यो खण्ड भक्तपुर र पनौतीबीचको छोटो दूरीमा रहेको एकमात्र वैकल्पिक मार्ग भएकाले नियमित सडक सञ्चालन अत्यावश्यक थियो।
उनले भने, “यो पर्यटकीय सडक भएकाले यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लामो समयदेखि सास्ती हुँदै आएको थियो। मर्मत सुरु भएपछि यात्रा सहज हुनुका साथै व्यवसायमा सुधार आउने अपेक्षा गरेका छौँ।”
सडकमा पहिरो जान थालेपछि पनौतीबाट दूध, तरकारीलगायत सामग्री ल्याउने यातायातमा समस्या हुँदा स्थानीय आपूर्ति प्रणाली प्रभावित भएको थियो। बकेँका अनुसार यहाँ पर्यटकको चाप बढिरहेको अवस्थामा एक महिनादेखि पटक–पटक पहिरो जाँदा सडक पूर्ण रूपमा अवरुद्ध बन्न पुगेको थियो।
खानेपानीको मूल पाइप फुटेर पानी बगेपछि थप पहिरो जाने जोखिमसमेत देखिएको अवस्थामा वडा कार्यालयको पहलमा सुरु गरिएको मर्मत कार्यले स्थानीयवासी र व्यवसायीहरूलाई उत्साहित बनाएको छ।
स्थानीय पर्यटन व्यवसायीहरू स्थायी समाधानका लागि संरचनागत सुधार, उचित नाला व्यवस्थापन तथा नियमित मर्मत प्रणाली आवश्यक रहेको धारणा राख्छन्।