ई-आर्थिक, काठमाडौं । नेपालमा व्यवसायिक शिक्षा र रोजगारीबीचको खाडल घटाउने उद्देश्यसहित इम्बार्क कलेजले दुई नयाँ कार्यक्रम सार्वजनिक गरेको छ। कलेजले “वर्क–स्टडी (अप्रेन्टिससिप) कार्यक्रम” र “स्टार्टअप क्षमता विकास कार्यक्रम” सुरु गरेको जानकारी दिएको छ।
इम्बार्क कलेजका कार्यकारी निर्देशक तथा सिइओ आशिष ठाकुरका अनुसार, यी कार्यक्रमले स्नातक तहका विद्यार्थीलाई रोजगारी सुनिश्चित गर्न र नवप्रवर्तनशील व्यवसायहरूलाई दीगो विकासमा टेवा पुर्याउन लक्ष्य राखेका छन्। “शैक्षिक जीवनपछि व्यावसायिक जीवनमा हुने अनिश्चितता अन्त्य गर्न हामीले उद्योगसँग प्रत्यक्ष सहकार्यमा आधारित शिक्षालाई प्राथमिकता दिएका छौं,” ठाकुरले भने।
वर्क–स्टडी कार्यक्रम
यस कार्यक्रममार्फत स्नातक तहका विद्यार्थीहरूले इम्बार्क कलेजसँग सहकार्यमा रहेका उद्योग तथा कम्पनीहरूमा संरचित तालिम प्राप्त गरी सीप विकास गर्नेछन्। तालिम आवश्यकता मूल्याङ्कन (TNA) अनुसार रोजगारीको अवसर उपलब्ध गराइनेछ।
कार्यक्रममा पूर्वनियोजित तालिम संरचना, व्यावसायिक परामर्श, नियमित मूल्याङ्कन र दीर्घकालीन साझेदारी समावेश गरिएको छ। यसले उद्योगलाई दक्ष जनशक्ति उपलब्ध गराउनेछ भने विद्यार्थीलाई सुनिश्चित करियर मार्गदर्शन गर्ने अपेक्षा गरिएको छ।
स्टार्टअप क्षमता विकास कार्यक्रम
दोस्रो कार्यक्रमले कानुनी रूपमा दर्ता भई १० वर्षभन्दा कम सञ्चालनमा रहेका र वार्षिक कारोबार १५ करोडभन्दा कम भएका स्टार्टअपहरूलाई लक्षित गरेको छ। यो कार्यक्रम नेपाल सरकारको स्टार्टअप नीति २०८० र औद्योगिक उद्यम ऐन २०७६ सँग मेल खाने गरी डिजाइन गरिएको हो।
कार्यक्रममा नवप्रवर्तन, मापनयोग्यता र बजार प्रभाव भएका व्यवसायहरूलाई प्राथमिकता दिइनेछ। सहभागी स्टार्टअपहरूले व्यवसाय योजना, वित्तीय विवरण, कानुनी दर्ता कागजात लगायतका आधारमा छनोट प्रक्रिया पार गर्नुपर्नेछ।
सीईओ ठाकुरले भने, “नेपालमा उद्यमशीलताको सम्भावना ठूलो छ, तर स्रोत तथा सञ्जालको पहुँच सीमित छ। हाम्रो प्रयास यिनै सीमितताबीच नवप्रवर्तनलाई दीगो व्यवसायमा रूपान्तरण गर्न सहयोग पुर्याउनु हो।”
ललितपुर, पुल्चोकमा अवस्थित इम्बार्क कलेजले BSc. Business Management, MBA र ACCA कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजले व्यवसायिक नेतृत्व उत्पादन गरेर रोजगारी सृजना, आयात प्रतिस्थापन र उद्यमशीलता प्रवर्द्धन मार्फत नेपालको आर्थिक विकासमा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ।