२०८३ साउन १२ मंगलबार

पर्वतमा ९६ करोड रुपैयाँको लागतमा ८६ सडक स्तरोन्नति हुने

ई आर्थिक    बिहिबार, भाद्र १२ २०८२
4.9K
Shares
पर्वतमा ९६ करोड रुपैयाँको लागतमा ८६ सडक स्तरोन्नति हुने

ई-आर्थिक, पर्वत ।  संघीय सहरी विकास मन्त्रालय र गण्डकी प्रदेश सरकारको साझेदारीमा पर्वत जिल्लामा ९६ करोड रुपैयाँभन्दा बढीको लगानीमा ८६ वटा ग्रामीण सडक स्तरोन्नति हुने भएका छन्। चालु आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेश सरकारले यो आयोजना अगाडि बढाएको हो।

पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमार्फत सञ्चालन हुने सडक स्तरोन्नतिको कार्य समन्वय पनि सोही मन्त्रालयले गर्नेछ। यसका लागि गण्डकी प्रदेश सरकारले ६३ करोड ५७ लाख रुपैयाँ र संघीय सहरी विकास मन्त्रालयले ३३ करोड रुपैयाँ विनियोजन गर्ने पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख सन्तोष अर्यालले जानकारी दिए।

गत आर्थिक वर्षको तुलनामा यो वर्ष बजेट र आयोजनामा कटौती गरिएको छ। अघिल्लो वर्षको तुलनामा बजेट १९ करोड ४५ लाख रुपैयाँले घटेको छ भने कुल आयोजना संख्या ५० ले घटाइएको छ। यद्यपि, विगतदेखि सञ्चालनमा रहेका ६ वटा बहुवर्षीय योजनाका लागि स्रोत सुनिश्चित गरिएको छ।

दक्षिण पर्वतको पैँयू गाउँपालिकाको सरौखोलामा निर्माणाधीन छत्तिसेघाट पुलका लागि ५१ लाख ४० हजार रुपैयाँ छुट्याइएको छ। यस्तै, मिलनचोक–सल्ल्यान–घाखेत सडकका लागि तीन करोड रुपैयाँ विनियोजन गरिएको छ। सो सडक विगत चार वर्षदेखि ठोस प्रगति गर्न सकेको छैन।

यसका अतिरिक्त, बस्ती विकास कार्यक्रम अन्तर्गत संघीय सशर्त अनुदानमार्फत पाँचवटा सडक आयोजनाका लागि दुई करोड ७५ लाख रुपैयाँ विनियोजन गरिएको छ। ती सडकहरूको निर्माण कार्य पनि सुरु भइसकेको छ।

सरकारले सडक पूर्वाधारको स्तरोन्नति मार्फत ग्रामीण बस्तीमा पहुँच, आर्थिक गतिविधि र विकासका सम्भावनालाई बल दिने उद्देश्य लिएको छ। स्थानीय तहका अपेक्षा अनुसार योजना कार्यान्वयन भएमा पर्वतका दुर्गम क्षेत्रमा यातायात सुविधा विस्तार हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij