ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा वैदेशिक व्यापारमा उल्लेख्य वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउन महिनामा आयात र निर्यात दुवै बढेका छन्।
गत वर्षको साउनको तुलनामा यस वर्ष आयात ११ प्रतिशतले बढेर १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, निर्यातमा झण्डै ९५ प्रतिशतको वृद्धि हुँदै २३ अर्ब रुपैयाँ पुगेको विभागले जनाएको छ।
व्यापार वृद्धि भए पनि वस्तु व्यापार घाटा भने २ प्रतिशतले बढेर १ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
सरकारी राजस्वको प्रमुख स्रोत मानिने आयात र भन्सारबाटै अधिकांश राजस्व संकलन हुने गर्छ।
अघिल्ला दुई आर्थिक वर्षमा आयातमा आएको गिरावटका कारण राजस्व संकलनमा दबाब परेको थियो।
तर, पछिल्लो समय आयातको मात्रा बढ्दै जाँदा सार्वजनिक वित्तीय स्थिति केही सहज बन्ने संकेत देखिएको भन्सार अधिकारीहरूको भनाइ छ।