२०८३ असोज ६ मंगलबार

मेची भन्सारद्वारा एक महिनामा ३२ करोडको अलैँची निर्यात

ई आर्थिक    शुक्रबार, भाद्र ६ २०८२
7.2K
Shares
मेची भन्सारद्वारा एक महिनामा ३२ करोडको अलैँची निर्यात

ई-आर्थिक, झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा मेची भन्सार कार्यालयबाट अलैँची निर्यातमा उल्लेख्य वृद्धि भएको छ। कार्यालयका अनुसार साउन महिनामा मात्र ३२ करोड १७ लाख ६१ हजार रुपैयाँ बराबरको अलैँची निर्यात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९९.५० प्रतिशतले बढी हो।

मेची भन्सारका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंका अनुसार साउन महिनामा २१६.१५ मेट्रिकटन अलैँची विदेश पठाइएको छ। गत वर्ष सोही महिनामा १६ करोड १२ लाख ५२ हजार रुपैयाँको अलैँची निर्यात भएको थियो।

यद्यपि सोही अवधिमा चिया निर्यातमा भने गिरावट आएको छ। यस वर्ष साउनमा ३७ करोड ४८ लाख २४ हजार रुपैयाँ बराबरको चिया निर्यात हुँदा अघिल्लो वर्ष सोही अवधिमा ५१ करोड २२ लाख ७८ हजार रुपैयाँको चिया निर्यात भएको थियो। यो २६.८० प्रतिशतले घटेको हो।

कार्यालयले अन्य केही वस्तुहरूको निर्यातमा पनि उतारचढाव देखिएको जनाएको छ। भेनियर सिटको निर्यात ३०.४० प्रतिशत, छुर्पी ९२ प्रतिशत, काउली, ब्रोकाउली र बन्दाकोपी ८९ प्रतिशतले बढेको छ भने, प्लाइउड ५४.१० प्रतिशत, अदुवा ५७.४० प्रतिशत र अम्रिसो ०.६० प्रतिशतले घटेको छ।

यो अवधिमा मेची भन्सारमार्फत कुल तीन अर्ब ६९ करोड ४० लाख २३ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij