२०८३ साउन १० आइतबार

जुम्लाका स्थानीय तहको आन्तरिक आम्दानी न्यून, खर्च उच्च

ई आर्थिक    बिहिबार, भाद्र ५ २०८२
2.5K
Shares
जुम्लाका स्थानीय तहको आन्तरिक आम्दानी न्यून, खर्च उच्च

ई-आर्थिक, जुम्ला ।  जुम्लाका आठवटै स्थानीय तह आन्तरिक स्रोतबाट पर्याप्त आम्दानी गर्न असफल देखिएका छन्। महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनअनुसार अधिकांश गाउँपालिका र नगरपालिका आन्तरिक राजस्व संकलनमा लक्ष्यभन्दा निकै कम पुग्दा पदाधिकारी सुविधा लगायतका खर्च भने आम्दानीको अनुपातमा धेरै रहेको पाइएको छ।

तिला गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा २५ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा केवल १९ लाख ३६ हजार रुपैयाँ मात्र संकलन गर्न सकेको छ। सोही अवधिमा पालिकाले पदाधिकारी सुविधामै करिब ८१ लाख रुपैयाँ खर्च गरेको छ, जुन आन्तरिक आम्दानीको चार सय ४२ प्रतिशत बढी हो।

महालेखा प्रतिवेदनले तिलालाई कुनै शीर्षकमा कर नउठाएको उल्लेख गर्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५८ अनुसार पालिकाहरूले व्यवसाय कर लगायतका राजस्व संकलन गर्नुपर्ने कानुनी व्यवस्था भएको स्पष्ट पारेको छ।

त्यस्तै, सिंजा गाउँपालिकाले २५ लाख ८५ हजार रुपैयाँ आन्तरिक आम्दानी गरे पनि स्रोत बढाउन विभिन्न पटक गिट्टी-बालुवाको ठेक्का आह्वान गर्दा पनि राजस्व संकलनमा सफलता हासिल गर्न नसकेको अध्यक्ष पूर्णप्रसाद धितालले बताए।

तातोपानी गाउँपालिकाले २३ लाख २६ हजार रुपैयाँ आम्दानीको अनुमान राखे पनि कुल बजेटको ०.०५ प्रतिशत मात्र आन्तरिक स्रोतबाट आएको देखिएको छ। हिमा र गुठीचौर गाउँपालिकाले क्रमशः १९ लाख ३६ हजार र १९ लाख ४० हजार रुपैयाँ आन्तरिक स्रोतबाट आम्दानी गरे पनि गुठीचौरले पदाधिकारी सुविधामै ४६ लाख ५० हजार रुपैयाँ खर्च गरेको देखिएको छ।

कनकासुन्दरी गाउँपालिकाको आन्तरिक आम्दानी २८ लाख ३६ हजार रुपैयाँ रहेको छ भने पातारासी गाउँपालिकाले लक्ष्यभन्दा बढी २३ लाख २९ हजार रुपैयाँ आन्तरिक राजस्व संकलन गरेको छ।

एकमात्र नगरपालिका चन्दननाथले भने अन्य पालिकाको तुलनामा उल्लेखनीय आन्तरिक आम्दानी गरेको छ। उसले कर, सेवा शुल्क, व्यवसाय, सवारी, सम्पत्ति, घरजग्गा बहाल, नक्सापास आदि शीर्षकबाट एक करोड ९९ लाख ९४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

हालको अवस्थाले जुम्लाका अधिकांश स्थानीय तह आन्तरिक स्रोत परिचालन र कर संकलनको कानुनी प्रावधान कार्यान्वयनमा चासो नदिएको देखिएको महालेखाको निष्कर्ष छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij