ई-आर्थिक, काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा घरजग्गा कारोबारमा उल्लेखनीय गिरावट देखिएको छ। साउन महिनामा देशभर पास भएका लिखतको संख्या अघिल्लो वर्षको तुलनामा झण्डै २८ प्रतिशतले घटेको छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, यस वर्ष साउनमा कुल ३१ हजार ६ सय २१ वटा लिखत पास भएका छन्। गत वर्ष सोही अवधिमा ४३ हजार ८ सय ३५ वटा लिखत पास भएका थिए। यस आधारमा १२ हजार २ सय १४ वटा लिखत कम भएका छन्।
कारोबारमा आएको मन्दीले राज्यको राजस्व संकलनमा समेत प्रत्यक्ष असर पारेको छ। साउन महिनामा घरजग्गाबाट जम्मा ३ अर्ब २८ करोड ९१ लाख रुपैयाँ राजस्व उठेको छ, जुन गत वर्षको साउनको तुलनामा १४ प्रतिशत कम हो।
अघिल्लो महिनासँग तुलना गर्दा गिरावट अझ प्रष्ट देखिन्छ। असारमा ६ अर्ब ५५ करोड १७ लाख रुपैयाँ राजस्व संकलन भएको थियो भने साउनमा सो संख्या आधाभन्दा बढी घटेर ५० प्रतिशतले कमी आएको छ। त्यस्तै, असारमा ५५ हजार ५ सय २४ वटा लिखत पास भएका थिए, जुन साउनमा ४३ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिले रियल इस्टेट कारोबारमा सहजता ल्याउने अपेक्षा गरिएको थियो। नीतिअनुसार, पहिलोपटक घर किन्ने व्यक्तिका लागि कर्जाको सीमा २ करोडबाट ३ करोड रुपैयाँ पुर्याइएको छ भने लोन-टु-भ्यालु अनुपात ७० प्रतिशतबाट बढाएर ८० प्रतिशत बनाइएको छ।
तर, नीतिगत सहुलियतको प्रभाव कारोबारमा अझै प्रत्यक्ष रूपमा देखिएको छैन। व्यवसायीहरूका अनुसार उच्च ब्याजदर, घट्दो माग र लगानीकर्ताको सतर्कताले बजारमा गतिशीलता आउन समय लाग्न सक्छ।