२०८३ साउन ९ शनिबार

दुप्चेश्वर मन्दिरमा एक करोड ४४ लाख भेटी संकलन, साउनमामात्रै ५० हजार भक्तजनले गरे दर्शन

ई आर्थिक    बिहिबार, भाद्र ५ २०८२
2.9K
Shares
दुप्चेश्वर मन्दिरमा एक करोड ४४ लाख भेटी संकलन, साउनमामात्रै ५० हजार भक्तजनले गरे दर्शन

ई-आर्थिक, नुवाकोट । नुवाकोटको प्रमुख धार्मिक स्थल दुप्चेश्वर महादेव मन्दिरमा भक्तजनको उल्लेख्य आवागमनसँगै भेटी आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ। दुप्चेश्वर क्षेत्र विकास कोषका कोषाध्यक्ष राजकुमार श्रेष्ठका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरूले चढाएको भेटीबाट कुल एक करोड ४४ लाख ८० हजार रुपैयाँ आम्दानी भएको छ।

उक्त रकममध्ये ३२ लाख २१ हजार रुपैयाँ खर्च भएको कोषले जनाएको छ। कोषाध्यक्ष श्रेष्ठका अनुसार आम्दानीमा स्वदेशी तथा विदेशी मुद्राको सटहीबाट प्राप्त रकमसमेत समावेश गरिएको छ। खर्चतर्फ कर्मचारी तलब, आरती, स्वयंसेवक सेवा र रासन खरिदजस्ता शीर्षक समावेश छन्।

दुप्चेश्वर क्षेत्र विकास कोषले आम्दानी-व्यय सम्बन्धी विवरण पारदर्शी ढंगले सार्वजनिक गर्दै आएको छ। मन्दिरमा संकलित भेटीको गणना हरेक दिन साँझ सिसिटिभी निगरानीमा सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रशारण गरेर गरिने व्यवस्था गाउँपालिकाले मिलाएको हो।

साउन महिनामा मात्रै करिब ५० हजार भक्तजनले दर्शन गरेको अनुमान गरिएको छ। सो अवधिमा ३१ लाख ८३ हजार रुपैयाँ बराबरको भेटी संकलन भएको कोषले जानकारी दिएको छ।

विकास कोषको अध्यक्ष र उपाध्यक्ष गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष रहने विधान व्यवस्था अनुसार मन्दिरको समग्र व्यवस्थापन स्थानीय सरकारमार्फत पारदर्शी रूपमा सञ्चालन हुँदै आएको गाउँपालिका अध्यक्ष शंकरबहादुर थापाले बताए।

मन्दिरका पुजारी भगवानहरी धितालका अनुसार पछिल्ला वर्षहरूमा भक्तजनको आकर्षण तीव्र रूपमा बढेको छ। धार्मिक आस्था, मनोकामना पूरा हुने विश्वास र मन्दिरको सहज पहुँचले दर्शनार्थीको संख्या हरेक वर्ष बढिरहेको छ।

पौराणिक कथन अनुसार, झण्डै ४०० वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई हराएपछि पहरोमा दुध चढाइरहेको देखिएकाले त्यस स्थानलाई ‘दुग्धेश्वर’ नाम दिइएको थियो। अहिले यहीँ ‘दुप्चेश्वर महादेव’को रूपमा पूजा गरिन्छ।

शनिबार र सोमबारको दिन विशेषगरी हजारौं भक्तजन दर्शनका लागि मन्दिर पुग्ने गरेका छन्। जनविश्वास अनुसार यहाँ पूजा गर्दा सन्तान प्राप्ति, बोल्न नसक्ने बालबालिकामा बोली लाग्ने, र थारा गाईभैँसी ब्याउने विश्वासका कारण पनि मन्दिरमा भीड बढ्दो छ।

दुप्चेश्वर महादेवलाई दोस्रो पशुपतिनाथको रूपमा पनि पूजा गरिन्छ। धार्मिक किम्बदन्ती अनुसार समुन्द्र मन्थनपछि निक्लिएको विष सेवन गरेर छटपटिएका शिव भगवान काठमाडौंको पशुपतिनाथ हुँदै दुप्चेश्वरमा विश्राम गरेर गोसाइँकुण्ड पुगेका थिए भन्ने जनविश्वास रहिआएको छ।

मन्दिरको भौतिक सुधार, व्यवस्थापन र धार्मिक पर्यटनसँगको सम्बन्धले नुवाकोट क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij