ई-आर्थिक, इलाम । इलाम नगरपालिका–१०, गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रंगशाला’ बजेट अभावका कारण सात वर्षदेखि अलपत्र अवस्थामा पुगेको छ।
निर्माण सुरु भएको लामो समय बितिसक्दा पनि पछिल्ला तीन आर्थिक वर्षदेखि बजेट विनियोजन हुन नसकेपछि रंगशालाको काम ठप्प भएको हो। अहिले निर्माणस्थल झाडीले ढाकिएको छ भने बनेका केही संरचना जीर्ण बन्दै गएका छन्।
रंगशाला निर्माणका लागि कोशी प्रदेश सरकार र इलाम नगरपालिकाबाट हालसम्म चार करोड आठ लाख २३ हजार रुपैयाँ खर्च भइसकेको छ। सो रकमबाट चार चरणमा पर्खाल, प्याराफिट र रेलिङको काम सम्पन्न भएको छ। तर नगरपालिकाका इञ्जिनियर क्षितिज दाहालका अनुसार समग्रमा जम्मा १० प्रतिशत मात्रै काम सम्पन्न भएको छ।
आर्थिक वर्ष २०७६/७७ देखि २०७९/८० सम्म चारपटकमा समपूरक अनुदानमार्फत बजेट प्राप्त भए पनि त्यसयता तीन आर्थिक वर्षदेखि कुनै बजेट आएको छैन। इलाम नगरप्रमुख केदार थापाका अनुसार बजेट माग्दा पनि प्रदेश सरकारले सुनुवाइ नगरेको गुनासो छ।
एकसय २० रोपनी क्षेत्रफलमा फैलिएको रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार निर्माण सम्पन्न गर्न करिब ५० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। रंगशाला सम्पन्न भएमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना गर्न सकिने सम्भावना रहेको स्थानीयवासीको अपेक्षा छ।