ई- आर्थिक, धरान । कोशी प्रदेश सरकारले पहिलोपटक प्रदेश राजस्व कार्यालय स्थापना गरी औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। सुनसरीको इटहरी उपमहानगरपालिका–२ मा सञ्चालनमा आएको यो कार्यालयबाट प्रदेशस्तरीय आन्तरिक राजस्व व्यवस्थापनलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।
सोमबार आयोजित एक समारोहमा कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले कार्यालयको उद्घाटन गरे। कार्यक्रममा बोल्दै मन्त्री रानाले राजस्व संकलन कमजोर रहँदै आएको प्रदेशको आर्थिक व्यवस्थामा सुधार ल्याउन नयाँ कार्यालयको स्थापना गरिएको बताए।
“जनतामा करको बोझ नपर्ने तर राजस्व संकलनलाई प्रभावकारी बनाउने लक्ष्य लिएको छौं,” उनले भने, “कुन क्षेत्रबाट राजस्व उठ्न सकेको छैन भन्ने पहिचान गरी अब आवश्यक समन्वय र सहजीकरण गरिनेछ।”
उनका अनुसार प्रदेश सरकारले आन्तरिक स्रोत परिचालनलाई प्राथमिकता दिँदै समावेशी र दिगो आर्थिक प्रणाली निर्माणमा केन्द्रित भइरहेकाे छ।
समारोहमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेत, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, मुख्यमन्त्रीका आर्थिक सल्लाहकार डा. मोहन सुवेदी, सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापा लगायतको उपस्थिति रहेको थियो।