ई-आर्थिक, महोत्तरी । मधेस प्रदेशको महोत्तरी जिल्लामा राजस्व संकलनमा उल्लेख्य प्रगति भएको छ। आर्थिक वर्ष २०८१/८२ मा कुल ५ अर्ब ५४ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व संकलन भएको छ, जुन पछिल्ला सात वर्षको अवधिमा सबैभन्दा उच्च हो।
सात वर्षअघि, आर्थिक वर्ष २०७५/७६ मा जम्मा २ अर्ब ६६ करोड १५ लाख ३६ हजार रुपैयाँ मात्रै संकलन भएको थियो। हालको संकलन त्यसको तुलनामा दोब्बरभन्दा बढी रहेको छ।
मधेस प्रदेशको अर्थ मन्त्रालयले यो प्रगति ‘उल्लेख्य उपलब्धि’ भएको बताएको छ। मन्त्रालयका सचिव रामकुमार महतो का अनुसार, “कर प्रशासन सुदृढीकरण, डिजिटल प्रणालीको विस्तार र आन्तरिक आर्थिक गतिविधिमा वृद्धि भएकोले यो उपलब्धि हासिल भएको हो।”
गत आर्थिक वर्ष २०८०/८१ मा संकलन ३ अर्ब ५ करोड ९२ लाख ३१ हजार रुपैयाँ थियो। त्यसको तुलनामा यस वर्षको संकलनमा २ अर्ब ५० करोडभन्दा बढीको वृद्धि देखिएको छ।
सचिव महतोका अनुसार, “राजस्व संकलनले अब राम्रो लिक समातेको छ। संकलन प्रक्रियालाई वैज्ञानिक ढंगले व्यवस्थित गरिएकाले आगामी वर्षहरूमा झनै सुधार हुने अपेक्षा गरिएको छ।”