२०८३ साउन ९ शनिबार

९६ लाख बढीको गैरकानुनी सम्पत्तिसहित पर्यटन विभागका निर्देशकविरुद्ध भ्रष्टाचारको मुद्दा

ई आर्थिक    बिहिबार, साउन २९ २०८२
3.8K
Shares
९६ लाख बढीको गैरकानुनी सम्पत्तिसहित पर्यटन विभागका निर्देशकविरुद्ध भ्रष्टाचारको मुद्दा

ई-आर्थिक,  काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभाग, भृकुटीमण्डपका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले मिति २०८२ साउन २९ गते विशेष अदालत काठमाडौंमा दायर गरेको आरोपपत्रअनुसार यादवले ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसाको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेका छन्।

आयोगका अनुसार यादवले २०६६ सालमा सरकारी सेवामा प्रवेश गरेदेखि २०७९ सालसम्मको अवधिमा पारिश्रमिक, भ्रमण भत्ता, बीमा भुक्तानी, सम्पर्क अधिकृतको रूपमा पाएको भत्ता, परामर्श सेवा, घर भाडा, बैंक कर्जा, कृषि आय, जग्गा बिक्री, ब्याज तथा शेयर बिक्रीजस्ता वैध स्रोतबाट जम्मा २ करोड ६८ लाख १८ हजार ९०० रुपैयाँ ७२ पैसा बराबरको आय आर्जन गरेका थिए।

तर सोही अवधिमा उनले गरेको खर्च र लगानी ३ करोड ६५ लाख ४ हजार ४५३ रुपैयाँ ९१ पैसामा पुगेको आयोगको दाबी छ। आयोगले यादवको आय र खर्चबीचको अन्तर रु ९६ लाख ८५ हजार ५५३ रुपैयाँ १९ पैसा स्रोतविहीन भएको उल्लेख गर्दै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कारबाहीको माग गरेको छ।

आयोगका अनुसार यादवले सरकारी पदमा रहँदै वैध स्रोतबिना सम्पत्ति आर्जन गरी अस्वाभाविक जीवनशैली अपनाएका छन्। उनले आफ्नो सम्पत्ति विवरणमा झुट्टा विवरण दिएकोसमेत प्रमाणित भएको आयोगको दाबी छ।

यादवले सार्वजनिक पदमा रहँदा आर्जन गरेको गैरकानुनी सम्पत्ति आफ्नी पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएकोले उक्त सम्पत्ति जफत गर्ने प्रयोजनका लागि उनलाई पनि प्रतिवादी बनाइएको आयोगले जनाएको छ।

आयोगले यादवविरुद्ध कैद सजाय, बिगोअनुसार जरिवाना तथा गैरकानुनी सम्पत्ति जफत गर्न माग गर्दै आरोपपत्र दायर गरेको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij