ई-आर्थिक, काठमाडौं । नेपालमा फूलको आयातमा उल्लेखनीय गिरावट आएको छ भने निर्यातमा भने उल्लेख्य वृद्धि भएको छ। नेपाल फ्लोरिकल्चर एसोसिएसनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा २७ करोड ६९ लाख रुपैयाँ बराबरको फूल आयात भएको थियो, जुन २०८१/८२ मा घटेर १२ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ। यसरी आयातमा १५ करोड रुपैयाँले कमी आएको हो।
एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले भन्सार नीतिमा कडाइ, स्वदेशी उत्पादनमा बढ्दो प्राथमिकता र आन्तरिक उत्पादनमा वृद्धि भएकै कारण आयातमा कमी आएको बताए।
यता निर्यात पक्ष हेर्दा भने, अघिल्लो वर्ष १ करोड २ लाख रुपैयाँ बराबरको फूल निर्यात भएकोमा यो वर्ष त्यो बढेर २ करोड १३ लाख रुपैयाँ पुगेको छ। जापान, अष्ट्रेलिया, माल्टा, हङकङलगायतका देशमा नेपाली फूल निर्यात हुने गरेको छ।
प्रत्येक वर्ष तिहार र प्रणय दिवसका लागि मखमली र रातो गुलाफ फूलको आयात गरिँदै आए पनि पछिल्लो समय स्वदेशी उत्पादनमा भएको वृद्धिका कारण अब त्यो निर्भरता घट्ने अपेक्षा गरिएको छ। यद्यपि, बजार माग वार्षिक १५–२० प्रतिशतले बढ्ने भएकाले आयात पूरै अन्त्य गर्न भने सम्भव नभएको व्यवसायीहरू बताउँछन्।
हाल काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, चितवन, मकवानपुर, काभ्रे, गुल्मी, पाल्पा, मोरङ, धादिङसहित ५४ जिल्लामा व्यावसायिक पुष्पखेती विस्तार भइसकेको छ। करिब २२१ हेक्टर क्षेत्रफलमा फैलिएको यो व्यवसायमा ५१ हजारभन्दा बढी व्यक्तिको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता रहेको छ।
नेपालको फूल व्यवसायको वार्षिक आर्थिक लक्ष्य तीन अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने फूलको व्यापार विशेषगरी असोजदेखि फागुनसम्म बढी हुने गरेको एसोसिएसनले जनाएको छ।