ई-आर्थिक, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका हुँदै बग्ने कालीगण्डकी नदीमा पहिलोपटक जलविद्युत् आयोजना निर्माण सुरु गरिएको छ। हाइड्रो सपोर्ट कम्पनी लिमिटेडले ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजना निर्माण थालेको हो।
आयोजनाको सिभिल निर्माणको जिम्मा लिएको रसुवा–मल्टि जेभीले अन्नपूर्ण–२, नागढुंगामा विस्फोटक पदार्थ प्रयोग गरेर ४ हजार ३१९ मिटर लामो सुरुङ निर्माण सुरु गरेको छ। सुरुङको अडिट भाग ४५९ मिटर रहेको र बाँधतर्फबाट साउन महिनाभित्र तथा आउटलेटतर्फबाट हिउँददेखि खन्ने तयारी भइरहेको हाइड्रो सपोर्टका सञ्चालक चन्द्र ढकालले जानकारी दिए।
अन्नपूर्ण–३, सुकेबगरमा बन्ने १२ मिटर अग्लो र ३५ मिटर लामो बाँधबाट संकलित पानी १५१ मिटर उचाइबाट अन्नपूर्ण–२, नौनीबगरस्थित भूमिगत विद्युत्गृहमा खसालेर उत्पादन गरिनेछ। रन अफ रिभर प्रणालीमा आधारित आयोजना अन्तर्गत विद्युत्गृह, स्विचयार्ड र कन्ट्रोल रुम जमिनमुनि बनाइनेछ।
विद्युत उत्पादनपछि नौनीबगरदेखि करिब सात किलोमिटर माथि रहेको २२० केभी क्षमताको दाना सवस्टेशनमार्फत केन्द्रिय प्रसारण प्रणालीमा जोडिनेछ। तीन वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य छ।
१२ अर्ब ९३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा नबिल बैंकको नेतृत्वमा छ वटा वाणिज्य बैंकले ७५ प्रतिशत ऋण तथा २५ प्रतिशत प्रवद्र्धक र शेयर लगानीकर्ताबाट रकम जुटाउने छन्।
नेपाल विद्युत् प्राधिकरणसँग गरिएको विद्युत् खरिद सम्झौता अनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र बर्खामा ४ रुपैयाँ ८० पैसा दर कायम गरिएको छ। हिउँदमा १ अर्ब ९ करोड र बर्खामा १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ।
कालीगण्डकी नदी बेसिनमा हालसम्म तीन वटा जलविद्युत् आयोजना निर्माणको अनुमति पाएका छन्। तीमध्ये ६५ मेगावाटको माथिल्लो कालीगण्डकी र १८० मेगावाटको कालीगण्डकी गर्ज आयोजना निर्माणको तयारीमा छन्। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनका अनुसार यी आयोजनाले म्याग्दीको ऊर्जा सम्भावनामा नयाँ अवसर थप्ने विश्वास गरिएको छ।