२०८३ साउन १२ मंगलबार

मध्य भोटेकोशी आयोजनामा बाढी सुरक्षासहित उत्पादन तयारी, प्राधिकरणले दियो निर्देशन

ई आर्थिक    शुक्रबार, साउन १६ २०८२
2.7K
Shares
मध्य भोटेकोशी आयोजनामा बाढी सुरक्षासहित उत्पादन तयारी, प्राधिकरणले दियो निर्देशन

ई-आर्थिक, सिन्धुपाललञ्चोक।   नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले मध्य भोटेकोशी जलविद्युत आयोजनाका सम्बन्धित अधिकारीहरूलाई सुरुङ चुहावट परीक्षण र बाढी सुरक्षासहित सम्पूर्ण संरचनाहरू तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्। आयोजनाले बुधबारदेखि उत्पादनका लागि सम्पूर्ण तयारी पूरा गरेको हो।

पूर्णरूपमा स्वदेशी पूँजी र प्रविधिबाट निर्माण भएको मध्य भोटेकोशी जलविद्युत आयोजना १०२ मेगावाट क्षमताको सर्वाधिक ठूलो आयोजना हो, जसले वार्षिक ५४ करोड २२ लाख युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ। बाँध सिन्धुपाल्चोकको मार्मिङ (चाकु) मा र पावर हाउस जम्बुमा रहेको छ।

निर्देशक शाक्यले आयोजना अन्तर्गत ७.२ किलोमिटर लामो सुरुङको चुहावट परीक्षण गर्न र पावर हाउससहितका पूर्वाधारहरूलाई भोटेकोशी नदीमा आउन सक्ने बाढीबाट सुरक्षित राख्न निर्देशन दिएका हुन्। “पावर हाउस क्षेत्रमा स्लाइडिङ ब्यारेकेडहरू निर्माण गर्ने र अन्य संवेदनशील संरचनाहरू सुरक्षित गर्ने व्यवस्था मिलाउन भनिएको छ,” प्राधिकरण स्रोतले जानकारी दियो।

हालसम्म आयोजना निर्माणको कार्य सम्पन्न भइसकेको भए पनि प्रसारण लाइनको अन्योलका कारण विद्युत उत्पादन सुरु हुन सकेको थिएन। सुरुमा बाह्रविसे–लप्सिफेदी प्रसारण लाइनबाट राष्ट्रिय प्रणालीमा जोड्ने योजना भए पनि स्थानीय सहमति नजुटेकाले त्यसमा अवरोध भयो। त्यसपछि लामोसाँघु हुँदै प्रसारणको प्रयास गरिएको थियो। जब त्यो पनि सम्भव भएन, अन्ततः न्यू खिम्ती ४०० केभी सबस्टेसनमार्फत ढल्केवर प्रसारण लाइनमा जोड्ने व्यवस्था मिलाइएको हो।

वि.सं. २०७० मा सुरु गरिएको यो आयोजना जुरे पहिरो (२०७१), भूकम्प (२०७२), भारतीय नाकाबन्दी (२०७२), बाढी तथा कोभिड-१९ महामारी लगायतका विभिन्न अवरोधबाट प्रभावित हुँदै आएको थियो। यी सबै कठिनाइ पार गर्दै अब आयोजना राष्ट्रिय ग्रिडमा जोडिने तयारीमा पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij