२०८३ साउन ९ शनिबार

दक्षिणकाली युवा समूहद्वारा निःशुल्क सेयर बजार अभिमुखीकरण तालिम प्रदान

ई आर्थिक    सोमबार, साउन १२ २०८२
3.4K
Shares
दक्षिणकाली युवा समूहद्वारा निःशुल्क सेयर बजार अभिमुखीकरण तालिम प्रदान

सामाजिक समानता र आर्थिक साक्षरताले युवा नेतृत्वको उज्यालो बाटो खोल्दै, एसईई विद्यार्थीलाई पनि सम्मान 

ई-आर्थिक, भक्तपुर । दक्षिणकाली युवा समूहले युवाहरूलाई आर्थिक जागरुकता र लगानीमा सशक्त बनाउन निःशुल्क सेयर बजार अभिमुखीकरण तालिम सञ्चालन गरेको छ । युवा समूहले चाँगुनारायण नगरपालिका वडा नं. ९ अन्तर्गतका साथै, विभिन्न विद्यालयबाट एसईई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गर्दै उज्जवल भविष्यका लागि शुभकामना व्यक्त गरिएको छ ।

एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूको सम्मान कार्यक्रममा “ग्रेड वा अंक होइन, संघर्ष र अडानको सम्मान” भन्ने मूल मन्त्र अनुरूप सबै विद्यार्थीहरूलाई समान रूपमा सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि, नबिल बैंकका प्रमुख  कार्यकारी अधिकृत मनोज ज्ञवालीले शिक्षा र नेतृत्वबारे युवाहरुलाई प्रेरणादायी सन्देश दिए ।

उहाँले भन्नुभयो, “शिक्षा मात्र लक्ष्य होइन, जीवनको आधारशिला हो। प्रत्येक युवा विद्यार्थीले आफ्नो क्षमतामा विश्वास राख्नुपर्छ र निरन्तर प्रयास गर्नु आवश्यक छ। योजना बनाउनुका साथै स्पष्ट दृष्टिकोणले जीवनका चुनौतीहरूलाई जित्न सकिन्छ। हामीले मात्र शिक्षामा होइन, चरित्र, अनुशासन र समाजसेवा पनि सिक्नुपर्छ। यही कुरा नै सफल नेतृत्वको मूल आधार हो।”

युवाहरूका लागि सञ्चालन गरिएको सेयर बजार अभिमुखीकरण तालिममा ९० भन्दा बढी युवा सहभागी भए। महिला लगानीकर्ता तथा प्रशिक्षक ग्रेस रौनियारले भने, “सेयर बजार केवल मुनाफाको माध्यम होइन, आर्थिक रूपान्तरण र सामाजिक परिवर्तनको शक्तिशाली यन्त्र हो। युवाले लगानी गर्दा दीर्घकालीन सोच राख्नु आवश्यक छ। यसले न केवल व्यक्तिगत जीवन सुदृढ गर्छ, तर समुदाय र राष्ट्रको समृद्धिमा पनि योगदान पुर्‍याउँछ। वित्तीय साक्षरता र जिम्मेवार लगानी नै आत्मनिर्भर राष्ट्रको आधार हो।”

ग्रेस रौनियारले युवाहरूलाई लगानीमा सोचविचारसहित जोखिम व्यवस्थापन गर्न र आर्थिक रूपमा सक्षम बन्न निरन्तर अभ्यास गर्न प्रेरित गरिन।

दक्षिणकाली युवा समूहका अध्यक्ष सुरेशराज गिरीले एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई आगामी दिनमा आफ्नो पढाइमा गहिरो लगाव राख्न आग्रह गर्दै, युवाहरूलाई लगानीमा सोचविचारसहित जोखिम व्यवस्थापन गर्न सुझाव दिनुभयो। उहाँले भन्नुभयो, “शिक्षा र लगानी—दुबैमा सन्तुलन र सूझबुझ आवश्यक छ, ताकि युवा शक्ति आत्मनिर्भर र समाज सशक्त बन्न सकोस्।”

कार्यक्रम उद्घोषण घनश्याम खड्काद्वारा गरिएको थियो भने व्यवस्थापन संयोजक नवीन बस्नेत र कार्यसमितिका सदस्यहरूले प्रभावकारी रूपमा कार्यक्रम सञ्चालन गरेका थिए । आर्थिक तथा सल्लाहकार समितिका सदस्य ध्रुव गिरीसहित कुल ६४ जनाको सक्रिय सहभागिताले यस कार्यक्रमलाई सामाजिक दायित्वपूर्ण र उदाहरणीय बनाएको छ।

कार्यसमितिका सदस्यहरूमा अनिल खड्का, ध्रुव गिरी, साकार खड्का, राजकुमार बस्नेत, सत्यनारायण गिरी, सौरब बस्नेत, रविन बस्नेत लगायत अन्य सक्रिय सदस्यहरू छन्। सल्लाहकार समिति र आर्थिक समितिका सदस्यहरू पनि यस कार्यक्रममा सहयोग पुर्‍याएका छन्, जसमा स्थानीय समुदायका अनुभवी र प्रतिबद्ध साथीहरू समावेश छन्।

कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रका साथीहरूले गरेको सहयोगप्रति कार्यसमितिले हार्दिक धन्यवाद व्यक्त गर्दै भविष्यमा पनि निरन्तर सहयोग र सहभागिताको अपेक्षा व्यक्त गरेको छ।

दक्षिणकाली युवा समूहले आगामी दिनहरूमा पनि युवाहरूमा वित्तीय ज्ञान, नेतृत्व क्षमता, र सामाजिक चेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रमहरू निरन्तर गर्दै जाने प्रतिबद्धता जनाएको छ। यस कार्यक्रमले एसईई उत्तीर्ण विद्यार्थीहरूको सम्मानसँगै युवा वर्गलाई आर्थिक रूपान्तरण र उन्नतिको बाटोमा अगाडि बढाउने नयाँ पहलको रूपमा ठूलो महत्व राख्दछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij