ई-आर्थिक, काठमाडौं । नबिल बैंक लिमिटेडले जारी गरेको ‘८ वर्षे, ७ प्रतिशत नबिल डिबेञ्चर २०८९’ को निष्काशन म्याद साउन २० गतेसम्मका लागि थप गरिएको छ।
साउन ६ गतेदेखि आवेदन खुला गरिएको यो डिबेञ्चरको कुल ३० लाख कित्ता निष्काशन गरिँदैछ। प्रतिकित्ता मूल्य रु. १,००० कायम गरिएको छ। कुल निष्काशनमध्ये ६० प्रतिशत अर्थात् १८ लाख कित्ता निजी संस्थागत लगानीकर्तामार्फत निजी स्थानमा बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशनमार्फत खुला गरिएको छ।
डिबेञ्चरमा म्युचुअल फन्डहरूका लागि ५ प्रतिशत अर्थात् ६० हजार कित्ता छुट्टाइएको छ। यस डिबेञ्चर निष्काशनबाट नबिल बैंकले कुल रु. ३ अर्ब संकलन गर्ने लक्ष्य राखेको छ।
केन्द्रीय निक्षेप प्रणाली (CDSC) अनुसार हालसम्म ३,१७३ जना आवेदकले १५ लाख ४६ हजार ८५० कित्ताका लागि आवेदन दिएका छन्, जसको कुल मूल्य करिब रु. १.५४ अर्ब बराबर रहेको छ।
यस डिबेञ्चर निष्काशनको व्यवस्थापन नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेडले गरेको छ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम १२ लाख कित्तासम्म आवेदन दिन सक्ने व्यवस्था छ।