२०८३ साउन ९ शनिबार

भारत कसरी ‘फ्रेन्च फ्राईज सुपरपावर’ बन्न पुग्यो?

ई आर्थिक    आइतबार, साउन ४ २०८२
2.2K
Shares
भारत कसरी ‘फ्रेन्च फ्राईज सुपरपावर’ बन्न पुग्यो?

काठमाडौं । फ्रेन्च फ्राइजले भारत गुजरातका किसानका परिवारका जितेश पटेलको भाग्य फेरिदियो। उनको परिवारले परम्परागत रूपमा कपास खेती गर्ने गरे तापनि त्यस बालीबाट उनीहरूको आम्दानी धेरै कम हुन्थ्यो।

सन् २००१ र २००२ मा गुजरातमा देखा परेको खडेरीले अवस्था झनै खराब बनायो। त्यसपछि उनको परिवारले अरू केही गर्नुपर्ने सोच्न थाल्यो।

“हामीले धेरै पानी नचाहिने बाली उब्जाउनुपर्ने कुरा महसुस गर्‍यौँ,” पटेल भन्छन्।

त्यसैले उनीहरूले आलु खेती गर्न थाले। सुरुमा उनीहरूले घरमा समेत खाने गरेको ‘टेबल पटेटो’ उब्जाए तापनि त्यसबाट उनीहरूले कपासबाट जति कमाउन सकेनन्।

सन् २००७ मा ‘फ्रेन्च फ्राइज’ (रेस्टुराँहरूमा धेरै पाइने तारेको आलु विशेष) बनाउनेहरू गुजरात आइपुगे। र त्यसबेलादेखि जितेश पटेलले खाद्य उद्योगमा प्रयोग हुने आलुका विभिन्न प्रजातिहरू उब्जाउन थाले।

त्यो एक सफल रणनीति साबित भएको बताउँदै जितेश पटेल भन्छन्, “त्यसबेलादेखि मैले कहिल्यै पछाडि फर्केर हेरेको छैन।”

भारत यतिखेर विश्वको दोस्रो ठूलो आलु उत्पादक बनेको छ। खासगरी फ्रेन्च फ्राइज निर्यातमा भारतको रफ्तार निकै द्रुत गतिको छ।

गुजरात भारतको फ्रेन्च फ्राइज उत्पादन हुने केन्द्र बनेको छ। त्यहाँ चिप्स पनि भनिने फ्रेन्च फ्राइज उत्पादन गर्ने ठूला कारखानाहरू समेत छन्।

तिनमा क्यानडाको विशाल मक्केन फूड्स र भारतको सबैभन्दा ठूलो फ्रेन्च फ्राइज उत्पादक कम्पनी हाइफन फूड्स समेत पर्छन्।

गुजरातबाट फ्राइज विश्वभर निर्यात भइरहेको छ।

ठूलो बजार

वर्षौँदेखि आलु बजारको अनुगमन गरिरहेका देवेन्द्र केका अनुसार आलुका लागि सबैभन्दा मुख्य बजारहरू फिलिपिन्स, थाइल्याण्ड र इन्डोनेसियासहित एसियामै छन्।

यस वर्षको फेब्रुअरीमा भारतीय फ्रोजन फ्राइजको मासिक निर्यात पहिलो पटक २० हजार टन नाघेको छ।

फेब्रुअरीसम्म भारतको फ्राइज निर्यात कुल १ लाख ८१ हजार ७७३ टन पुगेको छ जुन गत वर्षको तुलनामा ४५ प्रतिशतले बढ्ता हो।

फ्रोजन फ्राइजको मूल्य समेत यस सफलताका लागि आंशिक रूपमा जिम्मेवार छ।

“भारतीय फ्रोजन फ्राइजहरू विश्व बजारमा प्रतिस्पर्धी मूल्यका लागि परिचित छन्,” के भन्छन्।

उनका अनुसार सन् २०२४ मा भारतीय फ्राइजको औसत मूल्य चीनको भन्दा सस्तो थियो।

यो भारतीय फ्रेन्च फ्राइज निर्माताहरूका लागि क्षेत्र विस्तारको अवसर हो।

“यहाँको प्रचुर कृषि उत्पादन, कम लागतको उत्पादन र गुणस्तरीय मापदण्डमा बढ्दो ध्यानका कारण भारत एक महत्त्वपूर्ण निर्यातकर्ताको रूपमा देखा परेको छ,” हाईफन फूड्सका प्रमुख कार्यकारी अधिकृत हरेश करमचन्दनी भन्छन्।

गुजरातमा हाईफनका सातवटा आलु प्रशोधन कारखानाहरू छन् र सन् २०२६ सम्ममा थप दुईवटा कारखानाहरू खोल्ने उसको योजना छ।

“सहरीकरण, बढ्दो आम्दानी र फेरिँदो जीवनशैलीले घरमा मात्र नभई बाहिर समेत फ्रोजन खानाको खपत बढेको छ,” करमचन्दनी भन्छन्।

कसरी यो सम्भव भयो

यस्तो बढ्दो माग पूरा गर्न सक्नुमा किसानहरूका दशकौँदेखिका नवीन प्रयास जिम्मेवार छन्।

विश्वविद्यालयमा कृषि विज्ञान पढेका जितेश पटेलले खेतीपातीमा विज्ञान लागू गरिरहेका छन्।

आफ्ना साथीभाइ र परिवारसँग मिलेर उनी आलु उत्पादन बढाउन निरन्तर प्रयासरत छन्।

उनी भन्छन्: “हामी शिक्षित किसान हौँ। त्यसैले हामी नयाँ तरिकाहरू प्रयोग गरिरहन्छौँ।”

सन् २००३ मा जितेश पटेलले आफ्नो खेतमा सिँचाइ गर्न ड्रिप प्रणाली अपनाए।

पटेलले माटोलाई उर्वर राख्न गर्मीमा खेतमा केही पनि नलगाईकन त्यहाँ गाईबस्तुका गोबर मलको रूपमा प्रयोग गर्छन्।

यतिखेर उनको ध्यान आफ्नो माटो र हावापानी अनुरूप आलुको बिउ खोज्नमा छ।

उनी भन्छन्, “हामी विविध बीउको प्रयोग गर्दैछौं र चाँडै हामीसँग नयाँ जातको बीउ हुनेछ।”

जैन इरिगेशन सिस्टम्स भारतको एउटा ठूलो कृषि प्रविधि कम्पनी हो। सिँचाइ उपकरणहरू बेच्नुका साथै यसमा आलुका बिरुवाहरू सहित कृषिका लागि बीउ विकास गर्ने कैयौँ टोलीहरू छन्।

तिनीहरूले टिस्यु कल्चर भनिने प्रविधिहरू प्रयोग गर्छन्। यो इच्छित गुणहरू प्राप्त गर्न र रोगहरू हटाउन बिरुवाहरूको ‘क्लोनिङ’ गर्ने तरिका हो।

यसमा भाइरसमुक्त बिरुवाहरू उत्पादन गर्न नियन्त्रित प्रयोगशालाको वातावरणमा बिरुवाको तन्तुका साना टुक्राहरू उब्जाउने कार्य समावेश छ।

यी बिरुवाहरू त्यसपछि ‘कटिङ्ग्स’जस्ता विधिहरू मार्फत थप बीउ उत्पादन गर्न प्रयोग गरिन्छ।

“आलुको बीउ विशेषज्ञहरूले प्रक्रियाहरूको शृङ्खलामार्फत् सावधानीपूर्वक तयार गर्छन्,” कम्पनीका मार्केटिङ अधिकारी विजय सिंह भन्छन्।

सिंहले हाल सामना गरिरहेको एउटा समस्या भनेको चिप्स बनाउन प्रयोग गरिने आलुका प्रजातिहरू हुन्।

गत नोभेम्बरमा किसानहरूले चिनीको मात्राको कारणले गर्दा उनीहरूको आलुको बाली खैरो हुँदै गएको पाए।

“हाम्राजस्ता टिस्यु कल्चर कम्पनीहरूले उद्योगका चुनौतीहरूको सामना गर्न नयाँ प्रजातिहरू ल्याउने प्रयास गरिरहेका छन्,” सिंह भन्छन्।

भारतीय किसानहरू आफ्नो उत्पादन सुधार गर्न काम गरिरहेका छन्। तर देशको फ्रोजन खाद्य उद्योगमा लगानी आवश्यक छ।

सबैभन्दा ठूलो लगानी शून्यभन्दा कम तापक्रममा आलु भण्डारण गर्दै ग्राहकहरूसम्म पुर्‍याउनमा आवश्यक पर्ने संरचना तथा सुविधाहरूमा आवश्यक छ।

चुनौती

आधुनिक शीत भण्डार सुविधाहरू बढ्दै गए तापनि यतिखेर पहिलेभन्दा धेरै तिनको आवश्यकता छ।

“भारतको शीत भण्डार सुविधाहरूमध्ये केवल १०-१५ प्रतिशत फ्रोजन खाना भण्डारण गर्न उपयुक्त छन्। यी सुविधाहरू देशभरि असमान रूपमा छन्। ग्रामीण र दुर्गम क्षेत्रहरू यसबाट वञ्चित छन्,” इन्डो एग्री फूड्सका सहसंस्थापक विजय कुमार नायक भन्छन्।

शीत भण्डार पछि अर्को समस्या यातायातको हो।

“भारतमा रेफ्रिजेरेटेड ट्रक र कन्टेनरहरूको ठूलो अभाव छ। यसले तापक्रम नियन्त्रित ढुवानीलाई धेरै गाह्रो बनाउने हुँदा उपयुक्त तापक्रमको अभावमा सामानहरू बिग्रन्छन्,” उनी भन्छन्।

फ्रोजन फूड उद्योगका लागि भरपर्दो बिजुली आपूर्ति पनि आवश्यक छ।

“देशका कैयौँ भागमा बारम्बार बिजुली आपूर्ति बन्द हुँदा खानेकुरा बिग्रने सम्भावना बढ्छ। यसले भरपर्दो फ्रोजन फूड आपूर्ति शृङ्खला चलायमान राख्न गाह्रो बनाउँछ,” नायक भन्छन्।

“भारतीय कम्पनीहरूले चीन, थाइल्याण्ड र ब्रजिलजस्ता देशहरूबाट कडा प्रतिस्पर्धाको सामना गर्नुपर्छ। यी देशहरूमा उन्नत सामग्री र राम्रो पूर्वाधार छ।”

तर पनि जितेश पटेल चिप्स उत्पादन गर्ने कम्पनीहरू गुजरातको उनको फार्ममा आइरहँदा दङ्ग छन्।

उनी भन्छन्, “गुजरात खाद्य प्रशोधन केन्द्र बनेको छ। मसहित धेरैजसो किसानहरूले पहिल्यै बजार सुरक्षित गरेर खेती सुरु गरेका छौँ। यसले हामीलाई सुरक्षा र उत्पादनबाट राम्रो आम्दानी पनि दिन्छ।” बीबीसीबाट ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij