२०८३ भाद्र ३१ बुधबार

नेपाल एसबिआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

ई आर्थिक    आइतबार, असार २२ २०८२
2.7K
Shares
नेपाल एसबिआई बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्दै

ई-आर्थिक, काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले १० वर्ष अवधिको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत नेपाल एसबिआई बैंक ऋणपत्र २०९०’ असार ३० गते (जुलाई १४) देखि निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरमा ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। यसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरका १८ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरका १२ लाख कित्ता सर्वसाधारणमा निष्काशन गरिनेछ।

सर्वसाधारणमा छुट्याइएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने व्यवस्था छ। निष्काशन छिटोमा साउन १ गते (जुलाई १६) बन्द हुनेछ भने ढिलोमा साउन १२ गते (जुलाई २८) सम्म खुला रहनेछ।

बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थाहरु, तिनका शाखा कार्यालयहरू वा सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो शेयर’ सफ्टवेयरमार्फत सि-आस्बा प्रणाली प्रयोग गरी अनलाइन आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रको क्रेडिट रेटिङ्ग इक्रा नेपालले ‘ICRANP-IR Double A’ प्रदान गरेको छ, जसले यस ऋणपत्र समयमै वित्तीय दायित्व पूरा गर्न अत्यधिक सुरक्षित रहेको संकेत गर्दछ। ऋणपत्रबाट आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक समाप्तिपछि कर कट्टी गरी भुक्तानी गरिनेछ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij