२०८३ साउन ९ शनिबार

आगामी जेठभित्र मेलम्चीको खानेपानी सिंहदरबारभित्र वितरण गरिने, खानेपानीका बोतल र जार निषेध गर्ने खानेपानी मन्त्रीको घोषणा

ई आर्थिक    सोमबार, बैशाख १५ २०८२
2.3K
Shares
आगामी जेठभित्र मेलम्चीको खानेपानी सिंहदरबारभित्र  वितरण गरिने, खानेपानीका बोतल र जार निषेध गर्ने खानेपानी मन्त्रीको घोषणा

ई-आर्थिक, काठमाडौं ।  देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आगामी जेठभित्र मेलम्चीको खानेपानी वितरण गरिने भएको छ।

सिंहदरबारभित्र रहेका मन्त्रालय, आयोग, निकाय तथा कार्यालयमा आगामी जेठभित्रै मेलम्चीको खानेपानी जडान गरिसक्ने गरी काम सुरु गरिएको खानेपानी मन्त्रालयका सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले जानकारी दिए।

उनका अनुसार सिंहदरबारभित्र मेलम्चीको खानेपानी वितरण प्रणाली जोड्न काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई निर्देशन दिइएको र सोहीअनुसार काम भइरहेको छ।

खानेपानीमन्त्री प्रदीप यादवले अब सिंहदरबारमा खानेपानीका बोतल र जार निषेध गर्ने घोषणा गरेका थिए। हाल मेलम्चीको पानी वितरण प्रणालीको काम तीव्र रुपमा अगाडि बढेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव मीना श्रेष्ठले बताए।

उनले भने, ‘सिंहदरबारमा बोतल र जारको पानी निषेध गर्न मन्त्रीले निर्देशन दिएका छन्। अब यहाँ मेलम्चीको पानी वितरणका लागि काम तीब्र रुपमा अगाडि बढेको छ।’

मेलम्ची खानेपानी वितरण प्रणालीबाट पठाइएको पानी ढुक्क भएर पिउन मिल्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी प्रमुख अशोककुमार पौडेलले बताए। उनले भने,’मेलम्चीबाट जोडिएको पानी शुद्ध र पिउन योग्य हुन्छ। अब चाँडै सिंहदरबारमा मेलम्चीको पानी वितरण हुन्छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij