२०८३ साउन ९ शनिबार

सरकारी जग्गा भूमाफियाको कब्जामा, जग्गा संरक्षणमा जुट्यो स्थानीय निकाय

ई आर्थिक    मंगलबार, चैत्र १९ २०८१
5.5K
Shares
सरकारी जग्गा भूमाफियाको कब्जामा, जग्गा संरक्षणमा जुट्यो स्थानीय निकाय

ई-आर्थिक, झापा । शिवसताक्षी नगरपालिका-१० को कार्यालयलगायत सार्वजनिक प्रयोजनमा रहेको जग्गा भूमाफियाले हात पारेपछि स्थानीय जनप्रतिनिधि र राजनीतिक दल सरकारी जग्गाको संरक्षणमा जुटेका छन्।

विगत पाँच दशकदेखि कनकाई सिँचाइ आयोजनाको भोगाधिकार रहेको ११ बिगाहा सात कट्ठा जग्गामध्ये कित्ता नं १८२ को चार बिगाहा जग्गामा वडा नं १० को कार्यालय भवन, प्रहरी चौकी, कभर्ड हल र फुटबल मैदान रहेको छ।

वडाध्यक्ष हर्क सिगुका अनुसार विसं २०४६ जेठ २९ गते भूपाल किरातीको नेतृत्वमा गठित सुकुम्बासी समस्या समाधान आयोगबाट दमक वडा नं ५ का केशरबहादुर खड्काले मिलेमतो गरेर उक्त चार बिगाहा जग्गा आफ्नो नाममा दर्ता गराएका थिए। सरकारी स्वामित्वको उक्त जग्गामा खड्काले कहिल्यै भोगचलन गरेको छैन।

खड्काले सो जग्गा विसं २०४७ असोज १ गते लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीलाई बिक्री गरेको जनाइएको छ। तीनैजना व्यक्ति हालसम्म जग्गाको भोगचलन गर्न नआएको वडाध्यक्ष सिगुले बताए। नगरपालिकाले सो जग्गाको बिक्री रोक्का गरेको छ।

‘सरकारी स्वामित्वको जग्गा झुक्याएर हत्याएका भूमाफिया अहिले आएर जग्गा फुकुवा गरिदिनु पर्यो भन्दै मालपोत कार्यालयमा पुगेको थाहा भयो’, वडाध्यक्ष सिगु भन्छन्, ‘तर, हामी जनप्रतिनिधि र राजनीतिक दल यो जग्गा भूमाफियाको चङ्गुलमा पर्न दिँदैनौँ।’

पूर्वनगरप्रमुख चन्द्रकुमार शर्माले २०४६ सालको तरल राजनीतिक परिस्थितिमा कर्मचारीसँग मिलेर भूमाफियाले जग्गाको धनीपुर्जा निकालेको बताए। उनले उक्त जग्गा सरकारी स्वामित्वमा फर्काउन आफ्नो नेतृत्वकालमा पहल गरिएको बताए।

नेपाली कांग्रेसका महाधिवेशन प्रधिनिधि पर्शुराम ढुंगानाले सरकारी जग्गा भूमाफियाबाट फर्काउन स्थानीय सबै राजनीतिक दल एकमत रहेको बताए। प्रदेश सरकार र संघीय सरकारलाई पनि यस विषयमा ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ छ।

जग्गा फुकुवा गर्न लोकमाया खतिवडा, वेदकुमारी बस्नेत र नइद्रप्रसाद भण्डारीका तर्फबाट केही बिचौलिया सक्रिय रहेको वडा सदस्य दीपक पोखरेलको भनाइ छ। उनले भने, ‘जसले जग्गाको स्वामित्व दाबी गरिरहनुभएको छ, उहाँहरु यो नगरको बासिन्दा होइनन्, उहाँहरुलाई जग्गाको साँध सिमाना पनि थाहा छैन, भोगाधिकार पनि उहाँहरुको छैन, केही बिचौलिया जग्गा फुकुवा गरेर कमाउने दाउमा लागिरहेका छन्।’ रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij